४ जेष्ठ २०८२, आईतवार

 

पागल

जरुर साथी म पागल

यस्तै छ मेरो हाल

म शब्दलाई देख्दछु

दृश्यलाई सुन्दछु

वास्नालाई स्वाद लिन्छु

आकाशभन्दा पातला कुरालाई छुन्छु

ती कुरा,

जसको अस्तित्व लोक मान्दैन

जसको आकार संसार जान्दैन

म देख्दछु ढुङ्गालाई फूल

जब, जल किनारका जल चिप्ला ती

कोमलकार पाषाण,

चाँदनीमा,

स्वर्गको जादूगर्नी मतिर हाँस्दा,

पत्रिएर, नर्मिएर , झुल्किएर,

बल्किएर उठ्दछन् मूक पागल झँै,

फूल झैँ एक किसिमका चकोर फूल

म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् मसँग

एक भाषा, साथी

जो लेखिन्न, छापिन्न, बोलिन्न,

बुझाइन्न, सुनाइन्न

जुनेली गङ्गा किनार छाल आउँछ तिनको भाषा

साथी ! छालछाल !

जरुर साथी म पागल यस्तै मेरो हाल !

 

तिमी चतुर छौ बाचाल

तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ

मेरो गणितमा एकबाट एक झिक

एकै बाँकी रहन्छ

तिमी पाँच इन्द्रियले काम गर्छौै

म छैटौले

तिम्रो गिदी छ साथी

मेरो मुटु

तिमी गुलाफलाई गुलाफ सिवाय देख्न, सक्तैनौ,

म उसमा हेलेन र पद्यिनी पाउँछु,

तिमी बलिया गद्य छौ

म तरल पद्य छु

तिमी जम्दछौ जब म पग्लन्छु

तिमी संग्लन्छौ जब म धमिलो बन्छु,

र ठीक त्यसैको उल्टो

तिम्रो संसार ठोस छ

मेरो बाफ

तिम्रो बाक्लो, मेरो पातलो

तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,

ठोस कठोरता तिम्रो यथार्थ छ

म सपनालाई समात्न खोज्दछु,

जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको

पान्ढिकीको बाटुलो सत्यलाई

मेरो छ बेज काँढाको साथी

तिम्रो सुनको र हीराको

तिमी पहाडलाई लाटा भन्दछौ,

म भन्छु वाचाल

जरुर साथी

मेरो एक नशा ढीलो छ ।

यस्तै छ मेरो हाल

म माघको ठण्डीमा

ताराको सेतो प्राथमिक राप तापेर

बसिरहेको थिएँ,

दुनियाँले मलाई तरङ्गी भने

भष्मेश्वरबाट फर्कदा सात दिन

टोह्याएको देखेर

भूत लागेको भने

एक सुन्दरीका केशमा

समयमा तुषाराको

पहिला छिर्का परेको देखेर

म तीन दिन रुँदा,

मेरो आत्मलाई बुद्धले छुँदा

मलाई छटाएको भने

मैले वसन्तको पहिलो कोकिल सुनेर

नाचेको देख्दा,

बहुलाहा भने

एक सुनसान औँसीले मलाई निशास भएर

म प्रलय–वेदनाले उफ्रेँ

मुर्खहरुले मलाई त्यस बेला ठिंगुरा हालेर राखे

म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,

मलाई बुज्त्रगुहरुले,

राँची पठाइदिए

म आफुलाई एक दिन मरेको सम्झेर,

लम्पसार थिएँ,

एक साथीले बेसरी चिमटिदिए

र भने, “ए पागल तरो मासु अझ मरेको छैन”

यस्ता कुरा भए साल, साल

पागल छु साथी

यस्तै छ मेरो हाल !

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung