४ जेष्ठ २०८२, आईतवार

 

वामपन्थी पुगे नर्सिङकोट: ‘१ वर्ष पनि सरकार चलाउन नपाउने अवस्थाको अन्त्य गछौँ’-पौडेल

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा प्रतिनिधि सभा बागलुङ क्षेत्र नं. २ का साझा वामपन्थी उमेद्वार देवेन्द्र पौडेल सुनिलले जनताको चाहना अनुसार स्थीर सरकार बनाएर नेपाललाई सम्वृद्धिको बाटोमा अघि बढाउन वाम गठवन्धन भएको बताएका छन् । आइतवार बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत कुतनेटामा भएको चुनावी सभालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

‘एउटा सरकारले एक वर्ष पनि काम गर्न नपाउने अवस्थाको अन्त्य गरेर बलियो सरकार मार्फत समृद्धि नेपाल बनाउन यो गठबन्धन भएको हो,’ पौडेलले भने, ‘यसका लागि दुईतिहाई मतले संविधान संशोधन गर्नुपर्छ, वामपन्थीले मात्र संशोधन गर्नसक्ने हैसियतका लागि हामी चुनावमा होमिएका छौँ ।’

उनले मध्यपहाडी लोकमार्ग, सालझण्डी ढोरपाटन सडक, कालिगण्डकी करिडोर जस्ता राष्ट्रिय गौरवका ठुला परियोजना वामपन्थी सरकारले नै अगाडि सारेको भन्दै यसको पूर्णताका लागि आफु सँधै प्रतिबद्ध रहेको बताए । चुनावी सभा तथा भेटघाट कार्यक्रममा पौडेलले निसी लगाएतका बागलुङका दुर्गम भेगमा संचारको समस्या तत्काल समाधान गर्न पहल गर्ने, स्थानिय लघुजलविद्युतलाई मिनि ग्रिड मार्फत राष्ट्रिय प्रसारणमा जोड्ने र पश्चिम बागलुङमा केन्द्रीय विद्युत जनताको घरघरमा लैजान आफुले सक्दो प्रयास गर्ने बताए ।

लामो समय जनताको मुक्तिको लागी लडेको र वाँकी जीवने ग्रामीण जनताको सेवामा खर्चने उनले उद्घोष गरे । ‘राजकुतको नरसिंहकोट क्षेत्रको विकासको लागी गुरु योजना वनाएर काम गछौँ,’ पौडेलले थपे, ‘ढोरपाटनदेखि यहाँसम्म केवलकार निर्माण गर्ने योजना हामीले बनाएको छौँ, यसले पर्यटन प्रर्वद्धन मार्फत यो क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउने छ ।’

कार्यक्रममा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश सभा–२ का साझा वामपन्थी उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका नेता टेकवहादुर घर्तीले प्रदेशमा आफु र केन्द्रमा देवेन्द्र पौडेल मार्फत पहल गरेर पश्चिम बागलुङको विकासलाई अघि बढाउने बताए ।
‘स्थानीय तहमा भएका समस्या र जनताकको दुखसँग म पूर्ण जानकार छु,’ घर्तीले भने, ‘जनताको मतबाट प्रदेश र केन्द्रमा समेत वामपन्थीकै सरकार बन्छ, देवेन्द्रजीले केन्द्रबाट र मैले प्रदेशबाट संयुक्त प्रयास गरेर विकासलाई अघि बढाउँदै यहाँको गरिबी र विपन्नता हटाउन हामी लाग्नेछौँ ।’

त्यस्तै ढोरपाटन नगरपालिकाका प्रमुख तथा एमालेका युवा नेता देवकुमार नेपालीले दलित समुदायलाई सँधै अरुको लागी भोट वैंक बनाईएको भन्दै कसैको पैसा र भोजमा नबिक्न अपिल गरे । उनले नेपाली काग्रेसवाट दलित मुक्ति संभव नभएको भन्दै समानता र समताको लडाई वामपन्थीले मात्रै गर्न सक्ने बताए ।

राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष सुसिला सिर्पाली, नेकपा एमालेका नेता मोहनलाल शर्मा, नेकपा माओवादी केन्द्रका नेता तुल्सी अर्याल, जनमोर्चा नेता धर्म कुँवर लगाएतले वामपन्थी गठवन्धनलाई मतदान गर्न आग्रह गरे ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका डेमलाल श्रेष्ठको अध्यक्षता, नेकपा एमालेका लालविर लोप्चनको स्वागत मन्तव्य तथा जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघका प्रसान्त घर्तिमगरको संचालनमा सम्पन्न भएको थियो । टोलीले जन भेटघाट गर्दै सोमबार खुङ्गामा पुगेर कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung