
जगत नेपाल
देशमा पहिलो पटक हुँदै गरेको निर्वाचनको अभ्यास सम्बन्धी अनुभव र योग्यता भएका कर्मचारीको अभाव थियो । तैपनि चुनावमा १७ हजार कर्मचारी परिचालन गरिए । कम्तीमा तिन दर्जन क्षेत्रमा उम्मेदवार खडा गर्न सक्ने राजनीतिक दललाई एउटै चुनाव चिह्न दिइएको थियो । बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले रुख, रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोरखा परिषद्ले झोपडी, डा.के आई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीले धानको बाला, डा केशरजङ रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकैको घोगा र हँसिया, टङ्कप्रसाद अचार्य नेतृत्वको नेपाल प्रजा परिषद्ले घन कोदालो, भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद्ले हलो डा डिल्लीरमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसले छाता, वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले टाउकोमा गहुँको बिटो बोकेको किसान, रङ्गनाथ शर्मा नेतृत्वको प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएका थिए ।
चुनावमा कांगे्रसले १०८, गार्खा परिषद्ले ८६, नेपाल कम्युन्ष्टि पार्टीले ४७ प्रजा परिषद् आचार्य गुटले ४६ र मिश्र गुटले ३६ क्षेत्रमा उम्मेदवारी दिएका थिए । त्यसै गरी तराई कांग्रेसले २१ राष्ट्रिय कांग्रेसले २० र प्रजातान्त्रिक महासभाले ६८ क्षेत्रमा उम्मेदवार खडा गरेका थिए ।
नौ वटा राजनीतिक दलका ५ सय १८ र स्वतन्त्र २ सय ६८ गरी ७ सय ८६ उम्मेदबार मैदानमा थिए । निर्वाचन आयोगले चुनाव चिह्न सहितको मतपत्र बनाएको थिएन । न त आफुलाई मन परेको उम्मेदवारका पक्षमा मतदान गर्न मतदाताले स्वस्तिक चिह्नको प्रयोग नै गरे । जति उम्मेदवार छन्, त्यति नै संख्यामा चुनाव चिह्न टाँसिएका बाकस मतदान केन्द्रमा राखिएको थियो । हरेक पार्टी र उम्मेदवारका चुनाव चिह्न टाँसिएका मतपेटिका लहरै राखिएका हुन्थे । पहिलो निर्वाचन लेखिएको एउटा सानो कागजको टुक्रा मतदातालाई टाँसिएको बाकसमा त्यसलाई खसाल्ने व्यवस्था मिलाइएको थियो ।
कतिले त मतपत्र बाकसभित्र खसाउनुको साटो बाहिरै छाडेका थिए । बाठा मान्छेहरु बाकसमाथि राखिएका मतपत्र आफ्नै पक्षका उमेदवारको बाकसमा छिराइदिन्थे । फागुन ७ गते विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मतदान भयो । पहिलो चरणमा मतदान भएका क्षेत्रमा दुई दिनमै परिणाम घोषणा गरियो । अनि फेरि अर्काे ठाँउमा चुनाव सात आठ दिनको बीचमा देशभर चुनाव भयो । तर एक क्षेत्रमा फलानो पार्टीले जित्यो भन्ने सन्देश फैलिएपछि अर्काे क्षेत्रमा त्यसको प्रभाव पर्ने नै भयो । हुन त कुनै पनि पार्टीको बहुमत नआओस् भनेर दरबारले योजनाबद्ध रुपमा देशभर स्वतन्त्र उम्मेदवार खडा गरेको थियो । कति दललाई पैसा दिएर पनि चुनावी मैदानमा उतारिएको थियो । दरबारले कसैको पक्षमा बहुमत नआओस भनेर मतदान सकिएको क्षेत्रको परिणाम घोषणा गर्ने र अर्काे चरणको निर्वाचन सुरु गर्ने रणनीति अपनाएको थियो । अन्ततः कांग्रेसलाई त्यही कारण फाइदा पुग्यो । चुनाव जति चरणमा गरे पनि मत गणना एकै पटक गरेको भए कांग्रेसको दुईतिहाई बहुमत आउने थिएन ।
कसको कति मत
चुनाव सुरु भएको ४५ दिनमा चैत २८ गते पुरा भयो । कुल ४२ लाख ४६ हजार ४ सय ४८ मतदातामध्ये १९ लाख ८१ हजार ३ सय ८१ ले आफ्नो मताधिकार प्रयोग गरे । जसमा नेपाली कांग्रेसले ६ लाख ६६ हजार ८ सय ९८ , राष्ट्रिय गोरखा परिषद्ले ३ लाख ५ हजार १ सय १८ ,नेपाल कम्युनिष्ट पार्टीले १ लाख २९ हजार १ सय ४२ मत पाएका थिए । निर्वाचनमा एक लाखभन्दा बढी मत पाउने दललाई राष्ट्रिय पार्टीको मान्यता दिइएको थियो ।
नेपाली कांग्रेसका सभापति बीपी कोइरालाले क्षेत्र न १३ रामेछाप र क्षेत्र न ३२ मोरङबाट उम्मेदवारी दर्ता गरेका थिए । अन्तिम समयमा रामेछाप उम्मेदवारी फिर्ता गरियो । त्यसैले कुल १०९ सिटमा चुनाव भए पनि कांग्रेसको १०८ मा मात्र उम्मेदवारी कायम रह्यो ।
चुनावमा कांग्रेसले कुल ३७.२ प्रतिशत मत सहित ७४ सिटमा विजय हासिल ग¥यो । बाँकी ३४ मध्ये २३ सिटमा कांग्रेस उम्मेदवारहरु दोस्रो स्थान रहे । ९ जना तेस्रो र २ जना पाँचौ स्थानमा । ४८ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेको गोरखा परिषद्ले १७.३ प्रतिशत सहित १९ स्थानमा विजय हात पा¥यो । गोरखा परिषद्का उम्मेदवारहरु ३३ क्षेत्रमा दोस्रो, ४ क्षेत्रमा तेस्रो, ८ क्षेत्रमा चौथो, ४ क्षेत्रमा पाँचौ र ४ क्षेत्रमा छैटौ स्थानमा रहे ।
राणा परिवारका भाइभारदार, चाकडीदार, आठ पहरियाका जग्गा कमाउने मोहीहरु नै गोरखा परिषद्का समर्थक थिए । काठमाडौ र आसपासका जिल्लामा उसले बढी सिट जित्यो । त्यसको कारण थियो, त्यी क्षेत्रका धेरै मानिस सैनिक र अन्य जागिरका हिसाबले राणा परिवार र राणा दरबारसँग सम्बन्धित थिए । काठमाडौ बाहेक दैलेख, बागलुङ, पार्सा र सप्तहरीमा पनि उसले केही सिटमा कब्जा जमायो ।
४७ स्थानमा उम्मेदवारी दिएको नेपाल कम्युनिष्ट पार्टीले ४ सिटमा मात्र जित हात पा¥यो । ३४ स्थानमा वामपन्थी उम्मेदवारले कांग्रेससँग प्रतिस्पर्धा गरेको थिए । जितेका चारमध्ये ३ सिटमा कांग्रेस नै प्रतिद्धन्द्धी थियो ।
१० सिटमा कम्युनिष्ट पार्टीका उम्मेदवार निकटतम प्रतिद्धन्द्धी भए । ३३ उम्मेदवारको जमानत जफत भयो । निर्वाचनमा पर्याप्त गृहकार्य नहुनु , उम्मेदवारको चयन राम्रो सँग गर्न नसक्नु , प्रभावकारी प्रचार प्रसार नहुनु , आर्थिक अवस्था दरिलो नहुनु आदि कारणले कम्युनिष्टहरुको उपस्थिति बलियो हुन सकेन ।
४६ स्थानमा प्रतिसपर्धा गरेको प्रजापरिषद् २ सिटमा विजयी भयो । २१ क्षेत्रमा उम्मेदवारी दिएको तराई कांग्रेसले २० क्षेत्रमा जमानतसम्म जोगाउन सकेन ।
पर्याप्त राजनीतिक चेतना नभएका कारण जनताको रोजाइमा राजनीतिक दलभन्दा स्थानीय स्वतन्त्र उम्मदेवार पर्नेछन् । संसद्मा साना दल र स्वतन्त्र व्यक्तिहरुको बाहुल्य हुनेछ र उनीहरुलाई एकअर्का विरुद्ध भिडाएर फाइदा लिन सकिन्छ भन्ने राजा महेन्द्रको अनुमान चुनावी परिणामबाट गलत साबित भयो ।
जित्ने हस्तीहरु निर्वाचनको अन्तिम परिणाम २०१६ वैशाख २८ गते प्रकाशित भयो । नेका सभापति बीपी कोइराला क्षेत्र न ३२ मोरङबाट , गणेशमान सिंह क्षेत्र न १ काठमाडौबाट विजयी भए । मन्त्रिपरिषद्मा अध्यक्ष समेत रहेका कांग्रेस नेता सुवर्णशमशेरले तिन क्षेत्र (५२,५३,९१) मा प्रतिस्पर्धा गरेका थिए । मतदातासम्म नपुगे पनि उनी सबै क्षेत्रमा विजयी भए । गुल्मी निर्वाचन क्षेत्र न ९१ मा सुवर्णले पाइला समेत टेकेका थिएनन् । न चुनाव अगि न पछि । वारिसले उम्मेदवारी दर्ता गरिदिए । मन्त्रिपरिषद् अध्यक्षको जिम्मेवारीमा रहेका सुवर्णलाई यातायातको सुविधा नभएको त्यो समयमा गुल्मी , अर्घाखाँची पुगेर मतदातासँग भोट माग्ने समय र अवसर नै मिलेन । उनको स्वास्थ्य पनि कमजोर थियो । जनतामा भिजेका पनि थिएनन् । बीपीले भनेका छन् त्यसमाथि उनी घोडा चढेर वा हिँडेर गाउँ जान सक्तैनथे ।
तैपनि सुवर्णशमशेर क्षेत्र न ९१ बाट १० हजार मतको अन्तरमा विजयी भए । त्यो चुनावमा १० हजार मत अन्तरमा जित्ने चार र १० हजारभन्दा बढी मत पाउने १४ जना उम्मेदवार मात्र थिए । क्षेत्र न ७० र ७१ म प्रतिस्पर्धा गरेका कांग्रेसके अर्का नेता शिवराज पन्त दुवै ठाँउमा विजयी भए । क्षेत्र न ७१ म उनले पुर्व प्रधानमन्त्री डा.के.आइ.सिंहलाई पराजित गरे । पन्तले ७,२३६ र सिंहले ३,९६६ मत पाएका थिए ।
राष्ट्रवादी गोरखा परिषद्का नेता भरतशमशेका राणा क्षेत्र न १०७ धादिङबाट र नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार तुलसीलाल अमात्य क्षेत्र न ३ ललितपुरबाट निर्वाचित भए ।
क्षेत्र न ९२ गुल्मी मध्यपुर्व को मत गणना परिणाम सबैभन्दा पहिला सार्वजनिक भयो । त्यहाँबाट कांग्रेसका काशीनाथ गौतम ८,८५९ मत पाएर विजयी भए । त्यसै गरी सबैभन्दा ढिलो क्षेत्र न ८७ को मत परिणाम घोषणा भयो । त्यहाँ पनि कांग्रेसकै योगेन्द्रमान शेरचन १०,६११ मत ल्याएर विजयी भए ।
क्षेत्र न ४८ मा विजयी प्रजापरिषद्का शेख इद्रिस र जुम्ला क्षेत्र न ७३ बाट विजय स्वतन्त्र सांसद भीमबहादुर श्रेष्ठ कांग्रेसमा प्रवेश गरे । क्षेत्र न ७० डोटीमा भएको उपचुनावमा कांग्रेसका उम्मदेवार नवराज जोशी निर्विरोध निर्वाचित भए भने कांग्रेस नेता सुवर्णसमशेरले छोडेको गुल्मी दक्षिण पश्चिम क्षेत्र न ९१ म कांग्रेसकै पुष्करनाथ पोखरेल चुनिए । उता सुवर्णशमशेरले राजीनामा गरेको अर्काे क्षेत्र बारा क्षेत्र न ५२ मा गोरखा परिषद्का मनमोहन मिश्र विजयी भए । उपचुनावमा एक सिट हारे पनि प्रजापरिषद्का इद्रिस र स्वतन्त्र श्रेष्ठ थपिएकाले कांग्रेस संसदीय दलमा ७४ र गोरखा परिषद्मा २० सदस्य कायम भएका थिए । ‘पहिलो संसद् पुस्तक’ बाट