३२ असार २०८२, बुधबार

 

स्वास्थ्य चौकी नबन्दा औषधी जोगाउन गाह्रो

जग्गा उपलब्ध गराएको लामो समयसम्म पनि स्वास्थ्य चौकी भवन निर्माण नहुँदा यहाँका बासिन्दा निराश बनेका छन् । स्वास्थ्यचौकी बनेपछि उपचारमा सहज हुने अपेक्षा लिएका पर्वतको विहादी गाउँपालिका–१ बाच्छाका बासिन्दा निराश बनेका हुन् । भवन निर्माणका लागि स्थानीय बासिन्दाले ४ वर्ष अगडी जग्गादान गरेका थिए ।

गाउँमै स्वास्थ्यचौकी बन्ने भएपछि स्थानीय नेत्रबहादुर गुरुङ, रमेश गुरुङ, दिलिपसिंह गुरुङ, मेखबहादुर गुरुङ, रत्नबहादुर गुरुङ, लीला गुरुङ, भुपेन्द्र गुरुङ, सुरेश गुरुङ, भुवनसिंह गुरुङ, रामप्रसाद गुरुङ, भीमप्रसाद गुरुङ, मानसिंह गुरुङ र मनबहादुर गुरुङले आफ्नो मुख्य पुख्र्यौली जमिन २०७१ मा स्वास्थ्यचौकीका नाममा दान गरेका थिए ।

जग्गाको लालपूर्जा स्वास्थ्य चौकीका नाममा दिए पनि सरकारले बजेट नदिँदा स्थानीयको सपना अधुरो रहेको छ । सरकारसँग पटक–पटक बजेट माग गरेपनि अहिलेसम्म बजेट नआएको वडाध्यक्ष हेमनाथ आचार्यले बताए ।

वडाको तर्फबाट दबाब दिइरहे पनि सरकारले नसुनेको उनले बताए । स्वास्थ्य चौकीको पुरानो भवनमा पानी चुहिएर वर्षाका बेला महत्त्वपूर्ण औषधि जोगाउन समस्या छ । ‘वर्षाका बेला ढुवानी समस्या हुन्छ । हिउँदका बेला टेण्डर प्रक्रियामै रहेको भन्दै जिल्लाले औषधि पठाउँदैन । सरकारले ३५ प्रकारका औषधि निःशुल्क भन्छ ।

हामी दुइ–चार प्रकारका पनि दिन सक्दैनौं,’ स्वास्थ्यचौकी इञ्जार्ज खेम कोइरालाले भने । स्वास्थ्यचौकी नहुँदा उहाँका बासिन्दा स्वास्थ्यका लागि जोखीमको यात्रा र महँगो शुल्क तिरेर सदरमुकाम आउजाउ गर्न बाध्य छन् स्थानीय ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung