७ जेष्ठ २०८१, सोमबार

 

बागलुङ महोत्सवको आकर्षण फोटो प्रदर्शनी

कला, संस्कृतिको संरक्षण कृषि, पर्यटन, उघोग तथा व्यापारको प्रवद्र्धन भन्ने मुल नाराका साथ यही पुस १४ गतेदेखि २३ गतेसम्म संचालन हुन लागेको बागलुङ महोत्सवमा प्रदेश नं ४ स्तरीय फोटो प्रदर्शनी हुने भएको छ ।

उक्त फोटो प्रदर्शनीमा १० वटा स्थानीय तहको कृषि, पर्यटन, पशुपालन, घरेलु उत्पादन, जीवनशैली, समाज र मनोरम प्राकृतिक स्थलहरूका आकर्षक फोटोहरू प्रदर्शनीमा राखिने बागलुङ महोत्सव फोटो प्रदर्शनी उप–समितिका संयोजक अर्जुन चोखालले जानकारी दिए ।

महोत्सवको मुल नारा अनुरूप आयोजित प्रदर्शनीमा पश्चिम क्षेत्रका पोखरा, लुम्बिनी, गुल्मी, पर्वत बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम र डोल्पादेखि मुगु जिल्लासम्मका विविध सम्भावना बोकेका फोटोहरू समेटिएको महोत्स उप–समिति सदस्य तथा नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरलले बताए ।

फोटोलाई राम्रोसँग फोटोको सौन्दर्यकला नमर्ने गरि प्रदर्शनी (धौलागिरी बहुमुखी क्याम्पसको ३ नं हल) स्थलमा आकर्षक ढंगको ध्वनी, प्रकाश र फोटो स्ट्याड सहितको व्यवस्थापनमा राखिने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष तथा बागलुङ महोत्सव मुल समिति संयोजक जयराम भारीले बताए ।

२० रूपैयाँ टिकट शुल्क निर्धारण गरिएको प्रदर्शनीमा दर्शकहरुले मन परेको खण्डमा प्रदर्शित फोटोहरु खरिद गर्न समेत सक्ने संयोजक चोखालले बताए । प्रदर्शनीमा धौलागिरि अंचलका विभिन्न फोटो पत्रकारहरूका करिब १ सय फोटोहरू समावेश गरिने आयोजकले जानाकारी दियो । पौष २४ गतेसम्म संचालन हुने प्रदर्शनीमा आयोजकहरुले अवलोकनकर्ताहरुको ठूलो अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्