२५ असार २०८२, बुधबार

 

“जनताले बचाएका हामी”

विद्यालयको कार्यक्रममा तीन लहरमा उभिएर विद्यार्थीले गीत गाइरहेका छन् । अगाडि उभिएका पाका मान्छेले उनीहरूलाई सिकाइरहेका छन् । एकछिन पछि ती पाका मान्छेले पहिलो लहरमा उभिएकी एक छात्रालाई अगाडि बोलाउँछन्, अरूलाई सिकाउन लगाउँछन् र आफू बाटो लाग्छन् । पुस्ता हस्तान्तरणको यो बिम्बले दर्शकको मन तान्छ ।

आफैंमाथि बनेको डकुमेन्ट्री ‘डढेलोभित्रको सतिसाल’ प्रदर्शनपछि दर्शकसँगको अन्तक्र्रियामा जनगायक रामेश श्रेष्ठ

तेस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (पिम्फ) को अन्तिम दिन देखाइएको डकुमेन्ट्री ‘डढेलोभित्रको सतिसाल’ को अन्तिम दृश्य हो यो, जहाँ सतिसाल बनेर उभिएका छन्, जनगायक रामेश श्रेष्ठ । उनको जीवनीमाथि बनाइएको डकुमेन्ट्री पोखरेली दर्शकले निकै रुचाए । फिल्मकर्मी प्रणय लिम्बू र पत्रकार डम्बरकृष्ण श्रेष्ठ निर्देशित डकुमेन्ट्री हङकङ हिमायतीले बनाएको हो ।
९० मिनेटको डकुमेन्ट्री रामेशकै वरिपरि घुमेको छ । ५० वर्षअघि साहित्यकार पारिजातको नेतृत्वमा बनेको राल्फा, त्यसपछिका आस्था र संकल्प जस्ता समूहको गठन र विघटनको इतिहास केलाउने प्रयास गरिएको छ । रामेश र मञ्जुलको जोडीको टुटफुट, कम्युनिस्ट पार्टीको टुटफुटले प्रगतिशील संगीतमा पारेको प्रभाव, जनकलाकारको पार्टीकरणलगायत विषय डकुमेन्ट्रीमा समावेश छ । जनताको गीत गाउने भनिएका कैयौं कलाकार पलायन हुँदा रामेश भने निरन्तर त्यही बाटोमा हिँडिरहेको विषयलाई डढेलोभित्रको सतिसालसँग तुलना गरिएको छ ।
पिम्फमा सहभागी हुन पोखरा आएका रामेशले दर्शकसँग अन्तक्र्रिया पनि गरे । उनले ५०/५१ वर्षदेखि निरन्तर जनताको गीत गाउँदाका अनुभव सुनाए । ‘जनताको गीत गाउँदै गाउँगाउँ पुग्दा हामीलाई कतिपटक मार्न खोजियो,’ उनले स्मरण गरे, ‘जनताले हामीलाई घेरेर वल्लो डाँडाबाट पल्लो डाँडा पनि पुर्‍याएका छन् ।’
उनले ‘गाउँगाउँबाट उठ..’ बोलको गीतमा पछिल्लो पुस्ताले लिएको अपनत्वले खुसी लागेको बताए । ‘हामीलाई कतिपयले अझै पनि के पायौ भनेर सोध्छन्,’ उनले भने, ‘हामीले जनतालाई राजनीतिक रूपमा सचेत बनाएका छौं ।’ जनताले अन्तिमपल्ट स्थिरता र समृद्धिका लागि पुरानै पार्टीलाई भोट दिएको बताउँदै उनले अहिले पनि केही नगरे युवा पुस्ताको पालोआउने विचार राखे ।
पिम्फको अन्तिम दिन प्रदर्शन गरिएका अनिल लोम्बा मगरको ‘लोम्बा’, विकास न्यौपानेको ‘लक्ष्मनिया’, भीमसेन लामाको ‘च्यान्टी’ पनि दर्शकले मन पराए । पोखरा फिल्म सोसाइटीको आयोजनामा बिहीबार सुरुभएको पिम्फमा १४ देशका ३७ फिल्म प्रदर्शन गरिएको थियो ।
उत्सव थपलियाको ‘तुइन’ को नेपाल प्रिमियर पनि शुक्रबार पिम्फमै गरिएको थियो ।
 सुदूरपश्चिम क्षेत्रको पृष्ठभूमिमा रहेर तयार पारिएको सर्ट फिल्म ‘जालगेडी’ को स्क्रिनिङसँगै ‘पिम्फ’ को तेस्रो सिजन सुरु भएको थियो । पिम्फमा हिमाली जनजीवन, हिमाल आरोहण, साहसिक खेलकुद, अदम्य सहासका कथा, पर्यटन र आदिवासी जनजातिमा आधारित भएर निर्माण गरिएका चलचित्र प्रदर्शन गरिएको संयोजक सरोज सापकोटाले बताए ।
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung