
स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण यहाँकी एक सुत्केरी महिलाले सास्ती खेप्नुपरेको छ । जिल्लाको जैमिनी नगरपालिका—१ कुश्मीसेराकी सुस्मा थापा मगरले धौलागिरी अञ्चल अस्पताल बागलुङका स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण सास्ती खेप्न बाध्य भएकी हुन् । जैमिनी नगरपालिका—१ की उनी दुई साता अघि दुई साता अघि धौलागिरि अञ्चल अस्पताल बागलुङमा सुत्केरी भईन् । गत माघ २ गते सामान्य अवस्थामा उनी सुत्केरी भएपछि त्यसको भोलिपल्टै अस्पतालले उनलाई डिस्चार्ज गरिदियो ।
सामान्य अवस्था रहेको भन्दै अस्तालले डिस्चार्ज गरिदिएपछि घर फर्किएकी उनलाई निको होला भन्दा झन् पीडा बढ्दै जान थाल्यो । सुत्केरीको घाउ निको हुनुपर्ने समयमा सही नसक्नु पीडा हुन थालेपछि उनले यो कुरा अरुलाई सुनाईन् । उनको कुरा सुनेर कतिले उनलाई गिज्याए,‘यस्तो बेलामा अलि अलि पीडा त भैहाल्छ नी, अलिअलि दुख्दा पनि सहनै नसक्ने ?’ उनीप्रति उल्टो प्रश्न तेर्सियो । दुःखाई बढ्दै जाने र पिसाब गर्नका लागि पनि समस्या भएपछि स्वास्थ्यकर्मीसंग परामर्श गरिन् । परिवारले पनि सामान्य होला भन्ने ठानेर स्वास्थ्यकर्मीको सल्लाहमा दुःखाई कम गर्ने औषधी खुवाए, तर दुखाई बीसको उन्नाईस भएन ।
घाउ निको हुने समयमा उल्टै योनिद्वारबाट पिप जस्तो अत्यन्त गन्हाउने पानी बग्न थाल्यो त्रसित भएको परिवारले अस्पतालमा पुनः जँचाउन जाँदा पत्ता लाग्यो, उनको त योनी भित्रै प्याड छोडिएको रहेछ । सुत्केरी भएपछि बढि रगत बग्न नदिनबाट जोगाउनका लागि योनीभित्र राखिएको प्याड स्वास्थ्यकर्मीको लाहपरबाहीका कारण भित्रै छोडिएपछि सुस्माले १२ दिनसम्म पीडा खेप्नु परेको छ । ‘सामान्य अवस्थामै बच्चा जन्मिएको थियो, अस्पतालले डिस्चार्ज गरेर घरमा गएपछि झन् दुःख थाल्यो,’ सुस्माले भनिन्,‘१२ दिनपछि अस्पतालमा आएर चेकजाँच गर्दा त प्याड नै भित्रै छोडिएको रहेछ ।’
अस्पतालकाको लापारबाहीको कारण त्यस्तो भएको उनका श्रीमान किरण थापा बताउँछन् । ‘यो अस्पतालको गम्भीर लाहपरबाही हो, प्याड ननिकालिदिनु र निकाल्न पनि नभन्नु अस्पतालका डाक्टर र नर्सको गल्ती हो,’ उनले भने,‘डाक्टर र नर्सको लाहपरबाहीले गर्दा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।’ सुत्केरी भएपछि योनीमा टाँका लगाउने क्रममा भित्रै छोडिएको प्याड १२ दिनपछि आईतबार मात्रै निकालिएको थापाले बताए । ‘१२ दिनपछि आईतबार फेरि अस्पतालमै आएर प्याड निकालियो,’ थापाले भने,‘किन यस्तो भयो भनेर सोध्दा यहाँका स्वास्थ्यकर्मीहरु उल्टो रिसाउने र झर्किने गर्छन् ।’
स्वास्थ्यकर्मीको लाहपरबाहीले गर्दा अस्पतालप्रतिको विश्वास समेत घटेको उनी बताउँछन् । ‘हामी डाक्टरहरुलाई भगवान ठानेर अस्पतालमा आउँछौं, उनीहरुकै गल्तीले थप दुःख पाउनु परेको छ,’ थापा भन्छन्,‘ सोध्दा उल्टै झर्केपछि हामीले अस्पतालप्रति कसरी विश्वास गर्नु ?’ यस घटनाबारे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.सागर राज भण्डारीले आफु अनविज्ञ रहेको बताए । ‘सुत्केरी भएपछि धेरै रगत बग्न सक्ने हुँदा त्यसलाई रोक्नका लागि प्याडको प्रयोग गर्ने गरिन्छ,’ डा. राजभण्डारीले भने,‘प्याड भित्रै छोडिएको बारेमा मलाई कुनै जानकारी छैन । म यसबारे बुझ्छु ।’