म्यानमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट भएको छ। उक्त विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको छ। पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ। बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए। राज्य परिषद्का महानिर्देशक उ जवा हतीका अनुसार सुकीको निवासमा बम हानिएको तर समयमै आगो निभाएकोले क्षति हुन पाएको छैन।
आक्रमणकारीहरुको खोजी जारी रहेको उनले बताउनुभयो। सो आक्रमणका दोषीहरूको खोजीकार्य सुरु भएको र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको पनि उनले बताए। विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला यता यो बम आक्रमण भएको हो। बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन। साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।
पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।
सेतोपाटीबाट













































































































































































































