२ श्रावण २०८३, शनिबार

 

म इरानको पक्षमा दृढतापूर्वक उभिन्छु

लेखकले आफ्नो पुस्तकबारे कुरा गर्दै इरानमाथि अमेरिका र इजरायलको हमलाको निन्दा गरे।
गाजामा भइरहेको नरसंहारको निरन्तरताको रूपमा हमला भएको र यसले विश्वव्यापी युद्ध निम्त्याउन सक्ने चेतावनी दिए।
लेखकले भारत सरकारको विदेश नीतिको आलोचना गर्दै स्वाभिमान गुमाएको र अपमानित भएको कुरा व्यक्त गरे।

हामी यहाँ मेरो पछिल्लो पुस्तक ‘मदर मेरी कम्स टु मी’ बारे कुराकानी गर्न आएका हौँ । हाम्रो कार्यक्रमबारे मलाई राम्रोसँग थाहा छ । तथापि हामी तेहरान, इस्फाहान र बेरुत जस्ता सुन्दर सहरहरू आगोको लप्कामा झोसिएको बारे चर्चा नगरी कसरी आफ्नो कुराकानी टुङ्ग्याउन सक्छौँ होला त ?

मेरो आमा ‘मदर मेरी’ को खुला एवं कठोर स्वभावको चर्चा गर्दैगर्दा म यही मञ्चको प्रयोग गरेर अमेरिका र इजरायलले इरानमाथि अप्रत्याशित रूपमा थालेको एकतर्फी तथा गैरकानुनी हमलाबारे पनि केही भन्न चाहन्छु ।

निःसन्देह यो हमला गाजामा चलिरहेको अमेरिकी–इजरायली नरसंहारकै निरन्तरता हो । नरहसंहारकारीहरु आफ्नो उही पुरानै ‘प्लेबुक’ प्रयोग गरिरहेका छन् । उनीहरू महिला र बालबालिकाहरूको हत्या गर्दै छन् । अस्पतालमा बम पड्काउँदै छन् । सहरहरूमा निसंकोच ‘कार्पेट बम्बिङ’ गर्दै छन् । र, उल्टै आफूहरू पीडित भएको अभिनय गर्दै छन् ।

तर, इरान र गाजा उस्तै होइनन् । अब यो युद्धको क्षेत्र फैलिएर पुरा विश्वभर पुग्न सक्छ । हामी अहिले आणविक विनाश र आर्थिक विघटनको संघारमा आइपुगेका छौँ । कुनै समय हिरोसिमा र नागासाकीमा आणविक हतियार प्रहार गर्ने मुलुक नै अहिले पनि संसारकै सबै भन्दा पुरानो मध्येको एउटा सभ्यतामा आणविक बम हान्न तयारी गर्दै गरेको हुनसक्छ ।

यसबारे हामी अन्य अवसरमा पनि विस्तारमा कुरा गर्न सक्छौँ । तर, अहिलेलाई म यत्ति भन्छु– म इरानको पक्षमा उभिन्छु । स्पष्ट रूपमा उभिन्छु । मलाई थाहा छ कुनै पनि देशको शासन सत्ता खराब हुनसक्छ । त्यस्तो सत्ता फेरिनुपर्ने हुनसक्छ । चाहे त्यो अमेरिका वा इजरायलमै किन नहोस् ।

तर त्यस्तो परिवर्तन त्यहीँका जनताले गर्नुपर्छ । सम्पूर्ण संसारलाई धम्काउँदै आत्मसमर्पण गराउन खोजिरहेका ढोँगी, झुट, ठग, लोभी, अर्काको स्रोत–साधन हडप्ने, मनलाग्दी बम खसाल्ने साम्राज्यवादी शक्ति तथा यसका सहयोगीहरूले गर्ने होइन ।

इरान उनीहरूसामु दृढतापूर्वक उभिएको छ । तर यता हाम्रो भारतले भने खुट्टा कमाएको छ । हाम्रो सरकार कति हुतीहारा र कायर रहेछ भन्ने थाहा पाउँदा मलाई लाज लागेको छ । अलि समय पहिले हामी धेरै गरिब त थियौँ तर हामीसँग गौरव थियो । हाम्रो स्वाभिमान थियो ।

आज हामी धेरै गरिबहरू बसोबास गर्ने धनी मुलुक भएका छौँ । यहाँका बेरोजगार जनताहरू वास्तविक खानेकुराको साटो घृणा र झुट मिसिएको विष पिइरहेका छन् । हामीले आफ्नो गौरव गुमाएका छौँ । स्वाभिमान गुमाएका छौँ । हिम्मत गुमाएका छौँ । यी सबै कुराहरु अब हाम्रा चलचित्रहरूमा मात्रै हेर्न बाँकी छ ।

हामी कस्ता जनता हौँ, जसको सरकार अमेरिकाले अर्को मुलुकको राष्ट्र प्रमुखलाई दिनदहाडै अपहरण गर्दा वा हत्या गर्दा पनि विरोध गर्न वा भर्त्सना गर्न सक्दैन रु के हामी आफूलाई पनि त्यस्तै गरेको हेर्न चाहन्छौँ ?

इरानमा इजरायलले हमला गर्नु केही दिन अघि हाम्रा प्रधानमन्त्री इजरायल पुगेर त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अँगालो मारिरहेका थिए । यसको अर्थ के हो ?

अमेरिकाको सर्वोच्च अदालतले ट्रम्पका भन्सार शुल्कहरू गैरकानुनी घोषणा गरेको केही दिन अघि मात्रै हाम्रो सरकार अमेरिकासँग व्यापार सम्झौता गर्दै थियो । जस अनुसार हाम्रा किसान र कपडा उद्योग सबै ध्वस्त हुनेवाला छन् । यसको अर्थ के हो ?

अहिले हामीलाई रुसबाट तेल किन्न केही समयका लागि ‘अनुमति’ दिएको भनिएको छ । यो भनेको के हो ? हामीलाई के–के गर्न अनुमति चाहिने हो रु नुहाउन पनि अनुमति नै चाहिने हो कि रु कामबाट बिदा लिन पनि अनुमति चाहिने हो कि रु आफ्नै आमालाई भेट्न जान पनि अनुमति लिनुपर्ने हो कि ?

प्रत्येक दिन डोनाल्ड ट्रम्पलगायत अमेरिकी राजनीतिज्ञहरू हामीलाई अपमानित गरिरहेका छन् । हाम्रो खिल्ली उडाइरहेका छन् । हाम्रा प्रधानमन्त्री लाज पचाएर आफ्नो चर्चित खोक्रो हाँसो हाँसिरहन्छन् । उनीहरूलाई नै अँगालो मारिरहन्छन् ।

गाजामा चरम नरसंहार चलिरहेको घडीमा भारत सरकारले इजरायलमा हजारौँ भारतीय कामदार पठायो । उनीहरू त्यहाँ कामबाट हटाइएका प्यालेष्टाइनी कामदारलाई विस्थापन गर्न पठाइएका थिए । आज इजरायल युद्धमा छ । इजरायलीहरू बङ्करमा लुक्न जाँदै गर्दा भारतीयहरूलाई भने बङ्करमा आश्रय लिने अनुमति नदिइएका खबरहरू आइरहेका छन् ।

यसको अर्थ के हो रु हामीलाई यस्तो अपमानजनक, निर्लज्ज र घिनलाग्दो अवस्थामा कसले पुर्‍यायो ?

तपाईंहरुमध्ये कतिपयलाई पक्कै पनि सम्झना छ होला, चिनियाँहरुले हामीलाई कम्युनिस्ट शब्दावलीमा अतिरञ्जना गर्दै ‘साम्राज्यवादको कुकुर’ अर्थात् ‘रनिङ डग अफ इम्पेरियालिजम’ भन्ने गर्थे । हामी उनीहरूको पदावलीको धज्जी उडाउने गर्थ्यौँ ।

तर आजका दिनमा मलाई लाग्छ त्यही पदावलीले हाम्रो बारेमा सही वर्णन गर्न सक्छ । हामी खासमा त्यस्तै भएका छौँ । हामी अझै पनि शक्तिशाली देखिने एक मात्र ठाउँ हाम्रा विकृत र विषाक्त चलचित्रहरूमा मात्रै हो ।

जहाँ नक्कली नायकहरू बलियो देखिन्छन् ।उनीहरू हुँदै नभएका काल्पनिक युद्धहरू जितिरहन्छन्। त्यस्ता चलचित्रहरूले हामीभित्र हिंसाको अनन्त इच्छालाई प्रोत्साहन गर्छन् । साथै अर्थहीन क्रूरता र मूर्ख पात्रहरू देखाउँछन्।

रातोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung