बागलुङ । सडक कालोपत्रका लागि ठेक्का लगाएको १० वर्ष सम्म सम्पन्न हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ सदरमुकाम खण्डमा पुनस् नयाँ ठेक्का लगाउने तयारी गरिएको छ । दुई वर्षमा कालोपत्र सक्नुपर्ने गरी भारत/सिद्धिसाई जेभी संग गरिएको सम्झौता नौ वर्षमा तोडिएपछि पुन ठेक्का लगाउने तयारी भएको हो ।
पाँच पटक म्याद थप्दा समेत काम सम्पन्न नगर्ने ठेकेदारको सम्झौता रद्द गरी असुल उपरको प्रकृयासंगै नयाँ ठेक्का लगाउने तयारी गरिएको हो । मध्यपहाडी लोकमार्गको बागलुङ सदरमुकादेखि बिहुँ सम्मको खण्डमा पुरानो ठेक्का सम्झौता तोडेर रु. ९ करोड ३६ लाख रकम असुल उपरसंगै नयाँ ठेक्का सम्झौताका लागि मुल्याङ्कन र लागत अनुमानको प्रतिवेदन स्रोत सुनिश्चितताका राष्ट्रिय योजना आयोग मार्फत अर्थ मन्त्रालय पठाइएको छ ।
निर्माण व्यवसायीको चरम लापरवाहीको उदाहरण बनेको लोकमार्गको बागलुङ–बिहुँ खण्डमा २०८२ पुस १७ गते ठेक्का तोडेपछि सडक झनै जीर्ण बन्दै गएको छ । २०८२ पुस १७ गते ठेक्का सम्झौता रद्द गरीएको आयोजनाको ८ महिनापछि पुन ठेक्का लगाउने प्रकृयामा पुगेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतका सूचना अधिकारी इन्जिनियर उज्जल शर्माले जानकारी दिनुभयो ।
दुई वर्षमा कालोपत्र सक्नुपर्ने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बिहुँ खण्ड नौ वर्षदेखि सम्पन्न हुन नसक्दा नागरिकको चर्को आलोचना संगैठेक्का रद्द गरिएको थियो । ठेक्का रद्द भएको सडकको ८ महिना यता सडकको अवस्था झनै बिग्रदै गएको छ भने सम्पन्न भएको पूर्वाधारमा समेत क्षति पुगेको छ ।
१३ किमि सडक नौं वर्षमा सम्पन्न नभएका कारण गत पुषमा ठेक्का रद्द गरिएको र पुन ठेक्का लगाउने अन्तिम तयारी भएको शर्माले जानकारी दिनुभयो ।
“आठ महिनादेखि प्राविधिक काम गर्दै आएका थियौ, पुरानो ठेकेदारले गरेको काम र नयाँ ठेक्कामा थप्नुपर्ने पूर्वाधार लगायतको अध्ययन प्रतिवेदन सहित करिब २५ करोडको स्रोत सुनिश्चतता अर्थमन्त्रालयमा माग गरिएको छ” इन्जिनियर शर्माले भन्नुभयो “ठेक्का रद्द गरिएको ठेकदारबाट रु. नौ करोड ३६ लाख असुल उपर गर्नुपर्ने अध्ययन प्रतिवेदनले देखाएको छ, राज्यले असुल उपर गर्दै नयाँ ठेक्का छिट्टै खोल्ने तयारीमा छ, चार महिना भित्र नयाँ ठेक्का लाग्ने संभावना छ ।”
नौं वर्षमा पाँच पटक म्याद थप्दा समेत नसकिएको सडक ठेक्का रद्द गरेर पुन ठेक्काका जान ८ महिना वितिसकेको छ । ८० प्रतिशत भौतिक प्रगति र ६ किमि सडक कालोपत्र समेत भइको सडक पाँच पटक म्याद थप्दा समेत सम्पन्न हुन नसकेपछि रद्द गरिएको थियो ।
बागलुङ–बिहुँ खण्डको १३ किलोमिटर सडक २०७३ साल माघ १४ गते भारत/सिद्धिसाईसंग दुई वर्षमा सक्नेगरी रु. ४३ करोड ६५ लाखमा सम्झौता भएको थियो । ठेकेदारले रु. ३४ करोड ३ लाख भुक्तानी लिइसकेको छ भने सोही रकमबाट ९ करोड राज्यले पसन असुलउपर गर्नुपर्ने देखिएको हो ।
वर्षातका कारण सडक झनै बिग्रेको छ भने कालोपत्र गरेको क्षेत्रमा खाल्टाखुल्टी परेको छ । नेपाल सरकारका भौतीक पूर्वाधार मन्त्री सुनिल लम्सालले समेत उक्त सडकको अनुगमन गरिसक्नुभएको छ ।
















































































































































































