निर्माणको अन्तिम चरणमा पुगेको ठेउलेखोला जलविद्युत आयोजनाको काम रोकिएको छ । एक स्थानीयले अस्वाभाविक जग्गा मुअब्जा माग गरे पछि ठेउलेखोला जलबिद्युत आयोजनाको काम रोकिएको बताईएको छ ।
निर्माणको अन्तिम चरणमा पुगेको ठेउलेखोला जलविद्युत आयोजनाको लागि जैमिनी नगर पालिका वडा न. ५ (साविक बिनामारे गाविस वडा न.१)का खगेश्वर शर्माले अस्वाभाविक मुआब्जा माग गरेका कारण अन्तिम समयमा निर्माण कार्य रोकिएको आयोजनाले जनाएको छ । शर्माको जग्गामा जम्मा १६ मिटर टनेल (पाइपलाईन) बनाउनु पर्ने भए पनि जग्गाको लागि एक करोड ५ लाख रुपैयाँ मुअब्जा माग गरेको परियोजनाका इन्जिनियर सूर्य अधिकारीले बताए ।परियोजनाको लागि त्यस क्षेत्रमा प्रतिरोपनी ३ लाख ६० हजार रुपैयाँमा जग्गा अधिकरण गरिएको तर शर्माले १ करोड ५ लाख रुपैयाँ माग गरेपछि त्यस ठाउँमा टनेल बनाउने काम रोकिएको छ । आयोजना प्रभावित क्षेत्रमा जग्गा पर्नेहरुलाई करिब ९० लाख बढी रकम मुआव्जा वितरण गरिसकेको छ ।
१६ मिटरको टनेल निर्माणको लागि ४ घण्टा र अन्य काम गर्नको लागि जम्मा एक दिन लाग्ने भएपनि अवरोधका कारण २ महिनादेखि काम हुन सकेको छैन । जग्गा विवादलाई लिएर जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि विवाद अहिले सम्म समाधान हुन सकेको छैन । २०७० चैतमा दुई वर्ष्भित्र सम्पन्न गर्नेगरी निर्माण सुरु गरिएको साढे एक मेघावाटको उक्त ठेउलेखोला लघुजलविद्युत आयोजना निर्माणका क्रममा भारतीय नाकाबन्दी, विनासकारी भुकम्पका कारण दुई वर्ष ढिला भएको थियो भने अहिले मुअब्जा विवादका कारण झनै लम्बिएको छ । विभिन्न समस्याका कारण आयोजना निर्माण सम्पन्न गर्न ३३ करोड भन्दा बढी रकम खर्च लाग्ने ईन्जिनियर अधिकारीले जानकारी दिए ।बाराही हाइड्रोपावर प्रा.लिले निर्माणको जिम्मा लिएको उक्त आयोजनामा पावरहाउस र सवस्टेशन निर्माण कार्य सम्पन्न भईसकेको छ ।
यस आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि जैमिनी नगरपालिका वडा नं. १ को कुस्मीसेरामा सवस्टेशन निर्माण गर्न लागिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र जनाएको छ । उक्त आयोजना निर्माणपछि बागलुङ नगरपालिकाको केही भाग, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा विद्युत विस्तारमा सहजता हुने जनाइएको छ । तर जैमिनी नगरपालिका वडा न. ५ बिनामारेका वडा अध्यक्ष गोपालप्रसाद शर्माले निर्माण कम्पनीले एक करोड ५ लाख दिने भनेकाले खगेश्वर शर्माले सोही अनुरुप माग गरेको बताए ।



















































































































































































































