५ श्रावण २०८३, मंगलवार

 

‘सभ्य समाज निर्माणका लागि महिलाको सक्रियता बढाऔं ः डिएसपी थापा’

- मदिरा नियन्त्रणका लागि समिति गठन

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विश्वराज सिंह थापाले समाजलाई दुव्र्यसनमुक्त बनाउन महिलाहरुको सक्रियतामा जोड दिएका छन् ।
बागलुङ नगरपालिका वडा नं. ८ र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको सहयोगमा रानीभूमे महिला विकास बहुउद्देश्यीय सहकारी संंस्था लिमिटेड सिगानाले आइतवार आयोजना गरेको एक दिने दुव्र्यसन विरुद्ध आमाहरु विषयक सचेतना कार्यक्रममा उनले यस्तो बताएका थिए ।
समाज विकासको वाधकका रुपमा रहेको जथाभावी मदिरा उत्पादन र विक्री वितरणलाई नियन्त्रण गरी सभ्य र सुसंस्कृत समाज निर्माणका लागि महिलाहरुको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो ।
प्रहरीले मात्रै अपराध नियन्त्रण गर्न सक्दैन, त्यसका लागि समाजको सहयोग चाहिन्छ, त्यसमा पनि महिलाहरुले सक्रियतापूर्वक साथ दिने हो भने समाजलाई सभ्य बनाउन धेरै समय नलाग्ने उनको भनाई छ ।
पछिल्लो समय युवा युवतीहरु विभिन्न किसिमका कुलतमा फस्दै गएको भन्दै उनले आमाहरुको सक्रियतामा छोरा छोरीलाई दुव्र्यसनबाट रोक्न सहज हुने धारणा राखे । छोरा छोरीहरुसंग आमाहरु धेरै समय संगै रहने र उनीहरुका धेरै कुरामा आमाहरुको सामिप्यता रहने भएकाले छोराछोरीलाई सही बाटोमा ल्याउन आमाहरुको अग्रणी भूमिका हुने धारणा राखे ।
कार्यक्रममा दुव्र्यन नियन्त्रण सम्बन्धमा प्रहरी नायव उपरिक्षक थापा र आदर्श सञ्चार सहकारीको परिचय तथा सहकारी अभियानमार्फत समाज रुपान्तरणका विषयमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा संस्थाका सम्पादक रामबहादुर जिसीले सहजीकरण गरेका थिए ।
सहकारीले वित्तीय सचेतनासंगै समाज रुपान्तरणका लागि अग्रणी भूमिका निर्वाह गर्न सक्ने भएकाले यसतर्फ लाग्न जिसीले सबै सहकारीहरुलाई आव्हान गरे । सबै सहकारीहरुले आफ्ना सदस्यहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सक्ने हो भने एकै पटकमा ६५ लाख मानिसमा यो अभियान पुग्ने भएकाले समाज रुपान्तरणको सहज र प्रभावकारी माध्यम सहकारी हुने उनको भनाइ छ ।
कार्यक्रममा सिगाना वडा नं. ८ का वडा अध्यक्ष जीतबहादुर जिसी (राजन), आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसी, सहसचिव ललिता थापा, कोषाध्यक्ष अनन्त खड्का, रानीभूमे महिला विकास सहकारीका सहजकर्ता सुशिला पन्त लगायतले समाजमा रहेका विकृति र विसंगतीलाई सबै मिलेर नियन्त्रण गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रम रानीभूमे महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चित्रकला खड्काको अध्यक्षता, सचिव टिका खड्काको सञ्चालन र सदस्य जमुना जिसीको स्वागतमा सम्पन्न भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले दुव्र्यसन नियन्त्रणका लागि आमाहरुको भूमिका प्रभावकारी बनाउने उदेश्यका साथ सञ्चालन गरेको अभियान अन्तरगत आयोजित कार्यक्रममा सो वडामा गठित १० वटा आमा समुहका ८० जनाको सहभागिता रहेको थियो ।
यसैबीच समाजमा बढ्दै गैरहेको मदिरा उत्पादन, विक्री वितरण र सेवनलाई नियन्त्रण गरी सभ्य समाज निर्माण गर्ने उदेश्यका साथ बागलुङ नगरपालिका वडा नं. ८ मा वडा स्तरीय महिला समिति गठन गरिएको छ ।
वडा कार्यालयले अगाडि बढाएको मदिरा नियन्त्रण अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि आइतवार महिलाहरुले वडा स्तरीय समिति गठन गरेका हुन् ।
दुव्र्यसन विरुद्ध आमाहरु कार्यक्रममा सहभागी महिलाहरुले सुशिला पन्तको संयोजकत्वमा गठन गरेको समितिका सदस्यहरुमा हरिकला जिसी, उजेली खड्का, बालकुमारी जिसी, कोपिला खड्का, गिता खड्का, जमुना जिसी, लक्ष्मी खत्री, सरस्वती खड्का, धनकुमारी जिसी, डिलकुमारी कार्की, सरस्वती नेपाली, गिता विक र देवीकला कार्की रहेका छन् ।
वडा कार्यालयले मदिरा र सूर्तिजन्य पदार्थ विक्री वितरण गर्ने पसलहरु अनिवार्य दर्ता हुनु पर्ने, दिनको समयमा मदिरा विक्री वितरण गर्न नपाइने लगायतका निर्णय गरेको र उक्त निर्णयलाई कार्यान्वयनमा सहयोग गरी सभ्य समाज निर्माणका लागि महिलाहरुको सक्रिय सहभागिता गराउन समिति गठन गरिएको सिगाना महिला सञ्जालका अध्यक्ष चित्रकला खड्काले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung