बरेङ गाउँपालिका वडा नं. १ बरेङ बजारमा सञ्चालित बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुलाई थप सक्रिय बनाउने लक्ष्यका साथ बिहीवार एक दिने सहकारी सचेतना प्रदान गरेको छ ।
नयाँ सहकारी ऐन र सम्पत्ती सुद्धिकरण निर्देशिका जारी भएसंगै शेयर सदस्यहरुको भूमिकामा पनि परिमार्जन आवश्यक रहेकाले सहकारीका शेयर सदस्यहरुलाई तालिम प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि सहकारीका सदस्यहरुको सक्रिय सहभागितामा जोड दिनुपर्ने वताए ।

सहकारी सदयहरुको हो, सदस्यहरु सहकारीका मालिक हुन्, उनीहरुलाई जति सक्रिय बनाउन सक्यो त्यति संस्था व्यवस्थित हुने भन्दै उनले परिवर्तित परिस्थिति अनुसार सहकारीलाई अगाडि बढाउन सहकारी शिक्षामा जोड दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्णबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष केयरसिंह पुनको स्वागत र शिक्षा उपसमितिका सदस्य भीमबहादुर पुनको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका केन्द्रीय पार्षद ताराप्रसाद शर्मा, संस्थाका लेखा समितिका संयोजक खगराज आचार्य र शिक्षा उपसमितिका संयोजक तोमनाथ शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
बिहानी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो उदेश्य अनुसार काम गरेको छ । संस्थाले बचत तथा ऋण सहित पोलिक्लिनिक, बिहानी एफएम, कृषि भण्डार, रेमिट्यान्स लगायतका कार्य सञ्चालन गरेको छ ।
संस्थामा हाल ९ सय ५० जना शेयर सदस्य, १ करोड ६० लाख शेयर रकम, ४ करोड ६० लाख वचत, ५ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्णप्रसाद पौडेलले जानकारी दिए ।













































































































































































































