२७ भाद्र २०८३, शनिबार

 

बलेवा विमानस्थल बाट व्यवसायीक उडान

बागलुङको बलेवा विमानस्थल बाट शुक्रबार देखी व्यवसायीक रुपमा विमान उडान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानमा रहेको बिमानस्थलमा तारा एयरको ९ एन एईटी बिमानले व्यवसायिक रुपमा पहिलो उडान भरेको हो । विमानमा बागलुङका प्रतिनिधि सभाका सांसद सुर्य पाठक र देवेन्द्र पौडेल सहित १५ जना यात्रु आएका थिए । विहान ११.५५ बजे त्रिभुवन विमानस्थलबाट उडेको जहाज ३८ मिनेटमा बलेवा विमानस्थलमा आईपुगेको जहाजका क्याप्टेन संजिव श्रेष्ठले बताए । श्रेष्ठले बलेवा विमानस्थल पहाडी उडानका लागि धेरै राम्रो रहेको हुनाले यसलाई नियमित संचालन गर्नका लागि कुनै समस्या नरहेको बताए । गत सोमबार प्राविधिक पक्षको परिक्षण उडान सफल भए पश्चात शुक्रबार देखी व्यवसायीक रुपमा संचालन थालिएको हो ।
यात्रुलाई फुलमाला र खादा ओढाएर स्वागत
बिमान अवतरण हुँदा काठमाडौंबाट बलेवाका लागि आएका सांसदहरु सहित अन्य यात्रुहरुलाई बागलुङ नगरपालिकाका सबै वडाका वडा अध्यक्ष र स्थानियहरुले फुलमाला र खादा ओढाएर स्वागत गरेका थिए । पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि २०४८ सालदेखी व्यवसायीक रुपमा विमान आउने क्रम रोकिएको थियो । उडान गर्ने जानकारी पाएपछि स्थानियको बिमान हेर्न भिड लागेको थियो ।
हप्तामा दुई दिन उडान हुने
नागरिक उडड्यन प्राधिकरण, तारा एयर, नेपाल एयरलायन्सका प्रतिनिधी, र बागलुङ नगरपालिका विच भएको पुर्व सम्झौता अनुसार प्रत्येक हप्ताको आईतबार र विहिबार उडान भरिने छ । प्रत्येक हप्ताको आईतबार तारा एयर र बिहिबार नेपाल एयरलायन्सले उडान भर्ने गरी सम्झौता भएको बागलुङ नगरपालिका उपमेयर सुरेन्द्र खड्काले बताए । आईतबार बलेवाका लागि काठमाडौंबाट बाट विहान ११.४०मा र काठमाडौंका लागि १२.१५मा विमान छुटेने छ । त्यसैगरी विहिबार बलेवाका लागि विहान ६.४० र काठमाडौंका लागि विहान ७.३० मा उडान भर्ने नागरिक उड्यन प्राधिकरण पोखराका प्रवन्धक ईमनाथ अधिकारीले बताए । अधिकारीका अनुसार परिक्षण उडान गरिएको प्रतिवेदन आधारमा बलेवा विमानस्थलबाट जहाज संचानलका लागि कुनै समस्या नदेखिए पछि व्यवसायीक रुपमा उडान थालिएको हो । ‘बिमानस्थल सञ्चालनको सबैजसो तयारी पछि नियमित उडान संचालन गरिएको छ । प्रवन्धक अधिकारीले भने, ‘केही अपुग उपकरण खरिद गर्नुपर्ने र कन्ट्रोल डिपाक्चरलाई मर्मत गर्न बाँकी रेहेको देखिएको छ खरिद र मर्मत भए पश्चात प्राविधिक रुपमा पनि सहज हुनेछ ।’ अहिल एचएफ र भिएचएफ मात्र रहेको हुनाले अन्य आवश्यक उपकरण छिटो भन्दा छिटो उपलब्ध गराउनुपर्ने उनले बताए ।

भाडा महंगो भएको गुनासो
नियमित उडान सँगै काठमाडौंका लागि भाडादर पनि निर्धारण गरिएको छ । अहिले यात्रुहरुले ६ हजार ५ सय रुपैयाँ तिरेर यात्रा गरिरहेका छन । भाडादरको विषयमा सरकारले तोकेको भाडा भन्दा ३३ प्रतिशत बढि भएको गुनासो समेत आएको छ । यस विषयमा सांसद सुर्य पाठकले आफुहरु पर्यटन मन्त्रालय र प्राधिकरणमा कुरा गरेको बताए । उनले प्राधिकरणले काठमाडौं देखी बलेवा विमानस्थलमा सम्म ९७ माईल दुरी रहेको र अन्य प्राविधिक समस्या देखाउँदै अधिकतम भाडा निर्धारण गरेको छ यस विषयमा छिटै सम्बोधन हुनेछ । काठमाडौं देखी बलेवा सम्मको लागि न्युनतम ४ हजार ५ सय देखी अधिकतम ६ हजार ७ सय भाडा निर्धारण गरेको छ तर एयलाईन्सले ६ हजार ५ सय भाडा लिएकोमा स्थानियहरुले बढि भएको गुनासो गरेका छन । एयरलाईन्सले ४० मिनेटको हवाको यात्रा, ५ मिनेट बलेवा विमानस्थल र ५ मिनेट त्रिभुवन विमानस्थालको सयमलाई जोडेर ५० मिनेटको आधारमा भाडा निर्धारण गरेको जनाएको छ ।

जहाज चढन पाउँदा यात्रुहरु खुशी
पहिलो पटक बलेवा विमानस्थलमा जहाज चढेर आएका यात्रुहरु निकै खुशी देखिएका थिए । आफ्नो उपचारका लागि काठमाडौं गएका बागलुङ नगरपालिका ३ का ८० बर्षिय कृष्ण प्रसाद सापकोटाको दम्पती सँगै जहाजमा आएका थिए । सापकोटाले पहिले विमानस्थलबाट जहाज चलेको त देखेका थिए तर चढन भने पाएका थिएनन् बलेवा बाट जहाज चढने धोका हुँदा हुँदै विमानस्थलमा बन्द भयो अहिले आफु ८० वर्षको हुँदा जहाज चढन पाउँदा निकै खुसी लागेको उनी बताउँछन । सापकोटाले आफुलाई बागलुङले पनि विकासमा फड्को मारेका अनुभुती भएको बताए ।
पहिलो दिन नै पाँच जनाको भाडा नगरपालिकाले ब्यहोरो
पहिलो दिन नै बागलुङ नगरपालिकालाई ५ जना यात्रु बराबरको भाडा व्यहोर्नु परेको छ । काठमाडौंबाट १५ जना यात्रु बोकेर आएको विमानले बलेवा बाट भने ७ जना मात्र यात्रु लगेर गएको छ । नगरपालिकाले १२ जना यात्रु बराबरको भारवहान व्यहोर्ने पुर्व सहमति अनुसार पहिलो दिन ५ जना यात्रु बराबरको भाडा बागलुङ नगरपालिकाले थप गर्नुपरेको हो । यसरी नियमिति रुपमा यात्रु संख्या नपुगेमा नगरपालिकालाई ठुलो आर्थिक भार पर्ने बताईएको छ । पहिलो दिन र प्रचार प्रसार कम भएको हुनाले यात्रु संख्या कम भएको नगरपालिकाले जनाएको छ ।
जनश्रमदानबाट निर्माण गरिएको थियो
२०१८ सालमा निर्माण भएको विमानस्थलमा पोखरा–बागलुङ राजमार्ग खुलेपछि विमान आउन बन्द भएको स्थानिय ददिराम सुवेदीले बताए । उनले भने, ‘तत्कालिन अवस्थामा बलेवाका समाजसेवी पण्डित हेमराज पौडेल, भवानी प्रसाद उपाध्याय लगायतको नेतृत्वमा भकुण्डे देखी दक्षिण जैदी छिस्ती सम्मका जनताहरुले जनश्रमदान गरेर विमानस्थल निर्माण गरेका हुन । त्यो बेला विमानस्थल निर्माण गर्दा म पनि जनश्रमदान गरेको हुँ , ‘बन्द विमानस्थालमा जहाज चल्दा निकै खुसी लागेको छ यसलाई निरन्तरता पाउने विश्वास लिएको छु । ’ विमानस्थलमा २६ बर्ष पछि पुन विमान चलेको छ । बन्द बिमानस्थल गौचरणमा परिणत भएको थियो ।

समृद्धिका लागि एउटा दरिलो खम्बाका
विमानस्थल प्रदेश नं. ४ को समृद्धिका लागि एउटा दरिलो खम्बाको रुपमा स्थापति हुने सांसद सुर्य पाठकले बताए । उनले नगरपालिकाले ठुलो जोखिम मोलेर बिमानस्थल सञ्चालन गर्न लागिए पनि दिगो सञ्चालनका लागि बिमान प्रयोग गर्ने र यहाँ सम्म आउने बातावरण तयार गर्नुपर्ने छ । त्यसका लागि हामीले पहल थाल्ने छौं ।

आन्तरिक तथा बाह्य पर्यटकलाई सहज
छिमेकी जिल्ला गुल्मीका मानिसहरु पनि बिमान चढ्न भैरहवा पुग्छन्, अब तिनीहरुलाई पनि कालिगण्डकी करिडोरको स्तरोन्नति गरेर बलेवा बिमानस्थल आउने बातावरण तयार गर्नु आवश्यक छ रहेको छ । बलेवा बिमानस्थलबाट नियमित उडान भएमा बागलुङ जिल्लाका साथै छिमेकी पर्वत, म्याग्दी, मुस्ताङ र गुल्मीका जिल्लाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बागलुङ नगरपालिका वडा न. १४ का अध्यक्ष चक्र बहादुर खत्रीले बताए । उनले भने,‘यसले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई पनि छिटो छरिटो आवत जावतमा सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung