
सदस्य सहकारी संघ संस्थाहरुलाई जोखिम रहित तरिकाले सञ्चालनमा सहयोग पु¥याउने उदेश्यका साथ राष्ट्रिय सहकारी बैंक लिमिटेडको धनगढी शाखा कार्यालयले ३ दिने कर्जा तथा जोखिम व्यवस्थापन तालिम सोमबारदेखि सञ्चालन गरेको छ ।
धनगढीमा सञ्चालन भएको तालिममा सो क्षेत्रका विभिन्न प्रकृतिका ३२ वटा सहकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । सहकारी संघ संस्थाहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न, भविष्यमा आउन सक्ने जोखिमका बारेमा जानकारी लिई जोखिम व्यवस्थापन गर्न तथा सहकारीहरुले गर्ने कर्जा लगानीलाई प्रभावकारी बनाउनका लागि तालिम सहयोगी हुने जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष विश्वप्रकाश पौडेलले बताए ।
सहकारी बैंकले आफ्ना सदस्य संघ संस्थाहरुलाई कर्जा लगानीसंगै कर्जा लगायत समग्र जोखिम व्यवस्थापन सम्बन्धी तालिम दिएर सहकारी संस्थाहरुको प्रवद्र्धनमा योगदान गरेको बताउनु भयो । उहाँले सदस्यहरुलाई पूँजिसंगै प्रविधि र विधि समेत सिकाउने सहकारी बैंकको कार्यले सहकारीकर्मीहरुमा उत्साह आएको बताए ।
सहकारीमा देखिने वित्तीय लगायत व्यवस्थापनका समस्या समाधान गरी व्यवस्थित रुपमा सहकारीहरुलाई सञ्चालनका लागि बैंक सञ्चालक समितिले देशभर तालिम सञ्चालन गर्ने योजना बनाएको बैंकका सञ्चालक एवम् शिक्षा तथा तालिम उपसमितिका संयोजक सरिता भट्टराईले जानकारी दिए ।
तालिममा सहकारी संस्थाको वित्तीय व्यवस्थापन, जोखिम व्यवस्थापन, कर्जामा आउन सक्ने जोखिम र व्यवस्थापन लगायतका विषयमा बैंकका सहायक प्रवन्धक तथा कर्जा विभाग प्रमुख प्रमोद घिमिरे, धनगढी शाखाका प्रमुख कृष्ण रावल, दैलेख शाखाका प्रमुख निता थापा र दाङ शाखाका प्रमुख नारायण वेलवासेले सहजीकरण गर्ने जनाइएको छ ।