२५ असार २०८२, बुधबार

 

सहकारीलाई व्यवसाय केन्द्रीत गरौं ः जिसी

सराङकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा कास्कीले श्रमिक दिवसको अवसर पारेर एक दिने सहकारी सचेतना कार्यक्रम मंगलवार पोखरामा सम्पन्न गरेको छ ।
संस्थाका सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, उपसमितिका पदाधिकारी तथा सदस्यहरु र संस्थामा कार्यरत कर्मचारीहरुलाई सहकारी ऐन लगायत सहकारीको समसामयिक अवस्थाका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा सहकारी ऐन र सहकारीको वर्तमान अवस्था विषयमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले राज्यले लिएको समृद्धिको अभियानलाई सफल पार्नका लागि सहकारीहरुलाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
सहकारी ऐन अनुसार संस्था सञ्चालनका लागि कार्यविधिहरु तयार गरी व्यवस्थित रुपमा संस्था सञ्चालन गर्न आग्रह गर्दै जिसीले सहकारी क्षेत्रका सकारात्मक विषयलाई प्रोत्साहन र कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु पर्ने बताए ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष लोकबहादुर थापा, राष्ट्रिय सहकारी बैंक पोखरा शाखाका प्रमुख केदार उप्रेती लगायतले सहकारी अभियानलाई प्रभावकारी बनाउदै समाज रुपान्तरणमा यो क्षेत्रलाई सबैको भरोशाको केन्द्र बनाउनु पर्नेमा जोड दिएका थिए ।
संस्थाका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षता, उपाध्यक्ष बसन्तबहादुर बाँनियाको स्वागत र शिक्षा उपसमितिका संयोजक विकल पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाको विगत, वर्तमान अवस्था र आगामी कार्ययोजना तथा कार्यक्रमको औचित्यका बारेमा सचिव कृष्ण थापाले जानकारी गराएका थिए ।
संस्थाका प्रवन्धक सुरेन्द्र थापाले संस्थाको पछिल्लो वित्तीय अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो । २ सय ५५ जना शेयर सदस्य रहेको संस्थामा ४ करोड ३५ लाख शेयर रकम, १८ करोड निक्षेप, २२ करोड लगानी रहेको प्रवन्धक थापाले जानकारी दिए ।
संस्थाले वचत तथा ऋण संगै रेडियो सराङकोट समेत सञ्चालन गरेको छ । सहकारीमार्फत समाज रुपान्तरणको अभियान अन्तरगत आगामी दिनमा पर्यटन लगायतका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको सचिव कृष्ण थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung