२५ असार २०८२, बुधबार

 

जितपछि मेस्सीले भनेः यति पीडा भोग्नुपर्ला भनेर सोचेका थिएनौं

बराबरीले पनि प्रतियोगिताबाट बाहिरिने स्थितीमा मेस्सी र मार्कोस रोजाको गोलमा अर्जेन्टिनाले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो।

दुई पटकको विश्व च्याम्पियन र अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिनालाई बराबरीसँगै बाहिरिने अवस्थामा रहेका बेला अन्तिम पाँच मिनेटमा रोजोले गाब्रिअल मिकार्डाको क्रसमा गोल गर्दै टोलीलाई उकासेका थिए।

त्यसअघि भिक्टोर मुसाले पेनाल्टी मार्फत गोल गर्दै मेस्सीले दिलाएको सुरुआती अग्रता बराबरीमा ल्याएका थिए। खेलपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ मेस्सीले जितसँगै ठूलो राहात मिलेको बताएका छन्।

‘एकदमै अप्ठारो परिस्थिती थियो, हामीलाई निकै पीडा भयो,’ मेस्सीले भने, ‘जितसँगै हामीलाई ठूलो राहात मिलेको छ। जित्नैपर्ने परिस्थितीका कारण यो खेल चुनौतीपूर्ण हुने हामीलाई थाहा थियो। हामी अघिल्लो चरणमा पुग्नेमा विश्वस्त थियौं तर हामीले खेलमा सोचेको भन्दा धेरै पीडा भोग्नुपर्यो। भाग्यवश हामी हाम्रो लक्ष्यमा पुग्न सफल रह्यौं।’

मेस्सीका लागि पनि यो खेल महत्वपूर्ण थियो। अघिल्लो दुई खेलमा गोल गर्न नसकेका उनले १४ औं मिनेटमा आफ्नो क्षमता देखाउँदै सुन्दर गोल गरेका थिए।

इभर बेनेगाले मैदानको मध्यभागबाट दिएको पासलाई तिघ्रामा लिदैं विपक्षी डिफेन्डरलाई छलाएर डी बक्सको बायाँ किनारा च्याप्दै मेस्सीले गरेको बायाँ खुट्टाको प्रहार गोलमा परिणत भएको थियो।

प्रशिक्षक जर्ज साम्पोलीले स्टार खेलाडी मेस्सीको प्रदर्शनको प्रशंशा गरेका छन्।

साम्पोलीले भने, ‘यो जित मेस्सीका लागि धेरै महत्वपूर्ण छ। उनी एउटा त्यस्तो मान्छे हो, जसले अर्जेन्टिनालाई महसुस गरेको छ, रोएको छ, पीडाहरु भोगेको छ, जो अर्जेन्टिना जित्दा सबैभन्दा बढी खुशी हुन्छ। म मेस्सीलाई राम्रोसँग चिन्छु। मैले उनलाई हास्दा, निराश हुँदा, संकटमा हुँदा र राम्रा क्षणहरुमा देखेको छु।’नेपालखबरबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung