कमजोर आर्थिक पृष्ठभुमी भएका अभिभावक र उनिहरुको बेमेलका कारण विद्यालय जान नसक्ने भावुकपत्र लेखेकी बेनी नगरपालिका–६ जामुनाखर्ककी पुजा खत्रीको लागि सहयोगीहरुले चासो देखाएका छन् ।
पारिवारीक र आर्थिक अवस्थाका कारण विद्यालय आउन नसक्ने भएकाले विद्यालयबाट निकाला गरिदिन अनुरोध गर्दै कक्षा ६ की छात्रा पुजाले प्रअ सोमनाथ ढुङ्गानालाई पठाएको पत्र सामाजिक सञ्जाल र अनलाईन सञ्चार माध्यमबाट बुधबार दिउँसो सार्वजनीक भएलगत्तै उनको पढाईमा सहयोग गर्न विभिन्न व्यक्तिहरुले चासो देखाएका हुन् ।
पुजाको समस्याको बारेमाजानकारी लिएर सहयोगकालागि प्रतिवद्धता आउनथालेको प्रअ ढुङ्गानाले जानकारी दिए । बुवाले दैनिकजसो मदिरा सेवन गरेर ज्यालामजदुरी गर्ने स्थानमै पुगेर कुटपिट गरेपछि आमाले दोस्रो बिवाह गरेपछि खाने गास र बस्ने बासको टुंगो नलागेको तथा पढ्ने वातावरण नभएको ब्यहोरा उल्लेख गर्दै भदौ १ गते विद्यालयमा साथीमार्फत पत्र पठाएकी थिईन् ।
‘नियमित विद्यालयमा आउन ताकेता परेपछि साथीमार्फत कपीकलम समेत किन्ने पैसा नभएको ब्यहोरा सहितको पत्र पठाएकी थिईन ‘प्रअ ढुंगानाले भने । प्रथम त्रैमासिक परिक्षामा समेत अनुस्थित हुने अवस्था आएपछि गाउँकै विद्यार्थीलाई परिक्षा दिन विद्यालयमा जान विद्यालयले दैनिकजसो घरमा पत्र पठाए पनि खत्रीसंग पोशाक, स्टेशनरी, पुस्तक नभएपछि पत्रमार्फत जवाफ पठाएको विद्यालयले जनाएको छ ।
विद्यालयबाट सहयोगको प्रतिबद्धता जनाएपनि घरमै वातावरण नभएकाले समस्या भएको छ । विद्यालयमा पठाएको पुस्तकले शिक्षक समेत भावुक भएका थिए । यता विद्यालयले सहयोगकालागि वडा अध्यक्ष कृष्ण बहादुर बानियाँलाई पत्र हस्तान्तरण गरेको थियो । ‘परिवारको अवस्था दयनीय छ, ‘मैले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको छु’ बानियाँले भने ।
बानियाका अनुसार वडाभित्र रहेका सामुदायिक विद्यालयमा कुनै पनि अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरिएको छ । उनले रक्सी सेवन गरेर बुबाले कुटपिट गर्ने गरेको जानकारी पाए लगत्तै कारवाहीको चेतावनी समेत दिइएको बताए ।
उनले विपन्न परिवारका सदस्यलाई आवश्यकता अनुसार सहयोगका लागि वडा कार्यालयले समेत निशुल्क सेवादिने गरेको बताए । आमा–बुबाबीचको झगडा र मनमुटावले बालबालिकाको विचल्ली भएको वडा अध्यक्ष बानियाले बताए ।



















































































































































































































