बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ ।
१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै शुक्रबार समापन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण पनि गरेका छन् । अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेसँगै आगामी पाँचौं बिम्स्टेक शिखर सम्मेलन श्रीलङ्कामा हुनेछ । तर सम्मेलन कहिले हुने भन्नेबारे बिम्स्टेक राष्ट्रका सदस्यहरुबीचको आपसी छलफलपछि तय गरिनेछ । खासगरी हरेक दुई वर्षमा बिम्स्टेक शिखर सम्मेलन गर्ने भनिए पनि नियमित रुपमा कुनै पनि सम्मेलन हुन सकेको छैन ।
नेपाल सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि बिम्स्टेकको अध्यक्ष चयन भएको थियो। प्रधानमन्त्री ओलीले नेपालले बिम्स्टेकको अध्यक्षता ग्रहण गरेपछि सदस्य राष्ट्रबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे। बिम्स्टेक स्थापनाको २० वर्षमा बल्ल चौथो सम्मेलन सकिएको छ ।
बिम्स्टेक सदस्य राष्ट्रका राष्ट्ररसरकार प्रमुखहरुको उपस्थितिमा सदस्य राष्ट्रका परराष्ट्ररविदेशमन्त्री तथा अधिकारीहरुले उर्जा साझेदारीसँग सम्बन्धित ग्रिड इन्टरकनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ। यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता गरेको छ। अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ।



















































































































































































































