पूर्वाधार अभावले यहाँको पर्यटन क्षेत्र ओझेलमा परेको छ । जिल्लाको पर्यटन विकासको गुरुयोजना बन्न सकेको छैन । बजेट अनुत्पादक क्षेत्रमा लगानी भएको छ । सरकारी संयन्त्रदेखि अन्य निकाय, संघसंस्था पनि पर्यटनप्रति उदासिन छन् ।
गन्तव्यस्थलसम्म पुग्न सडक सुविधा छैन ।पदमार्गसँगै पर्यटकलाई चाहिने सुविधायुक्त होटल, खानेपानी, स्वास्थ्य, सुरक्षाको समेत अभाव छ । पर्यटनमैत्री पूर्वाधार नबनेसम्म पर्यटन विकासले गति नलिने सम्बन्धित क्षेत्रका अगुवा बताउँछन् । ढोरपाटनबाट जिल्लाले कुनै फाइदा लिन सकेको छैन । ढोरपाटन खर्चिला विदेशी शिकारी पर्यटकको आकर्षणमा छ ।
कच्ची सडक पुगे पनि अन्य कुनै पर्यटकीय पूर्वाधार त्यहाँ छैनन् । सामान्य खाना, आवासको समेत असुविधा छ । शिकार खेल्न आउने पर्यटकहरु बन्दोबस्तीसहित हेलिकप्टरमा आउँछन्, शिकार खेल्छन् फर्कन्छन् । देशकै एकमात्र शिकार आरक्ष ढोरपाटन राज्यको नजरमा पर्न सकेको छैन । प्रचुर पर्यटकीय सम्भावना भएपनि ढोरपाटन पूर्वाधार नभएकै कारण पछाडि परेको छ ।
सडक बनेपछि पछिल्लो समय आन्तरिक पर्यटक छिटपुट रुपमा घुम्न जाने क्रम शुरु भएको छ । प्राकृतिक, सांस्कृतिक र जैविक विविधता भएको ढोरपाटन उत्कृष्ट पर्यटकीय गन्तव्य मानिन्छ । नेपालकै ठूलो जलाशययुक्त विद्युत आयोजना त्यहीँ बन्ने भएपछि चर्चा थप बढेको छ । ढोरपाटनसँगै जिल्लामा अन्य दर्जनौ पर्यटकीय गन्तव्य पूर्वाधार र प्रचार प्रसार कमीले ओझेलमा छन् ।
केही वर्षअघि बन्न शुरु भएको विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटलाई अर्को महत्वपूर्ण धार्मिक पर्यटनको गन्तव्य बन्ने देखिएको छ । बागलुङ नगरपालिका भित्रै निर्माणाधीन पञ्चकोटमा दुई अर्बको योजना अघि बढेको छ । अहिले पूर्वाधार निर्माणकै चरणमा रहेको पञ्चकोटमा आन्तरिक पर्यटक पुग्न थालेका छन् । सदरमुकाम बाहिरका कतिपय पर्यटकीय गन्तव्यमा त अहिलेसम्म सडक पनि पुग्न सकेको छैन । पर्यटन प्रवद्र्धनमा विस्तारै चासो भने बढेको देखिन्छ ।
केही महिनाअघि मात्र जिल्लाको पर्यटन प्रवद्र्ध गर्ने उद्देश्य रोखर ‘बागलुङ पर्यटन विकास समिति’ बनेको छ । यसअघि जिल्ला स्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्था थिएन । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनमा समितिले काम गर्ने अध्यक्ष राजु खड्का बताउनुहुन्छ ।
सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजनामा समिति छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाहरुको यथार्थ विवरण संकलन गरिने अध्यक्ष खड्काको भनाइ छ । ‘तत्कालै जिल्लाको पर्यटकीय सम्भावना झल्कने वृत्तचित्र बनाउँछौं’ उहाँले भन्नुभयो । पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाको रुपमा घोषणा गर्न पनि समितिले पहल थाल्नेछ ।
पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको बागलुङलाई पर्यटन बजारमा उजागर गरिने भएको छ । ‘समितिको काम बढी प्रवद्र्धनात्मक हुन्छ,’ अध्यक्ष खड्काले भन्नुभयो, ‘सरकारी र निजी क्षेत्रको लगानीमा गर्न सकिने पर्यटन विकासका काममा पनि हामी समन्वय गर्छौं ।’
















































































































































































