असोज २३ गते बिहानैदेखि प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. ७ मा निर्वाचित सांसद रामविर मानन्धरले नेकपाका नेता बामदेव गौतमका लागि पद त्याग गरेको चर्चा चलिरहेको थियो । अपरान्ह स्वयं रामविर मानन्धरले पत्रकार सम्मेलन गरेर बामदेव गौतमका लागि आफुले पदबाट राजिनामा दिएको समाचार अनलाईनमा हेर्दै थिए । नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापाको फोनले समाचारबाट ध्यान फोनतर्फ गरायो । अति मृदुभाषी थापाले राम सर, महासंघको कार्यालयमा आउनु प¥यो भने । आजभोली म प्राय कार्यक्रमहरुमा जादिन तर राम जीले फोनै गरेर आउन भनेका विशेष कार्यक्रमहरुमा जाने गरेको छु । उनले भनेपछि खास होला भन्ने लाग्यो, अनि सोधे केही विशेष छ र सर ? उताबाट राम थापाको जवाफ थियो । बामदेव गौतम आउनु भएको छ । पत्रकार सम्मेलन हुदैछ, बरु छिटै आउनु होला ।
म हतार हतार महासंघको कार्यालयतर्फ लागे । म पैदल नै हिड्छु, गाडीमा हिड्ने साथीहरु अगाडि नै पुगि सके होलान् भन्दै हतार हतार बाटोमा हिड्दै थिए मनमा अनेक तरंगहरु आउन थाले । कमरेड बामदेव गौतमले काठमाडौं क्षेत्र नं. ७ बाट लड्ने निर्वाचनको घोषणा हाम्रै बागलुङबाट गर्ने निधो गरेका । बागलुङ फेरी एकपटक चर्चामा आउने भयो भन्ने लाग्यो, सम्झे तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादीबीच २०६२ कात्तिकमा भएको ६ बुदे सहमति बारेमा पनि उनले बागलुङमै आयोजित पत्रकार सम्मेलनबाट सार्वजनिक गरेका थिए ।
अव दुई धु्रविय लडाई हुन्छ, सबै दल एकातर्फ र राजतन्त्र एकातर्फ हुन्छ र छिटै राजतन्त्र समाप्त हुन्छ भन्दै उनले सबैलाई राजतन्त्रको विरुद्ध एकाकार हुन आव्हान गरेका थिए । यस्तै कुरा मनमा खेलाउदै महासंघको कार्यालयमा पुग्दा राम जीले कार्यक्रमको शुरुवात गर्न लाग्नु भएको थियो । उनले पत्रकार सम्मेलनको औपचारिक शुरुवात गर्दै अध्यक्ष दिल शिरिषलार्ई अध्यक्षताको आसन ग्रहण गर्न लगाए । प्रमुख अतिथिको रुपमा गौतम कमरेडलाई आसन ग्रहण गराए । कार्यक्रममा नेकपाका स्थानीय थुप्रै नेता कार्यकर्ता र पत्रकारहरुको उपस्थिति थियो । सबैलाई एकमुष्ट आसन ग्रहण पछि सञ्चालक थापाले सिधै बामदेव गौतमलाई समसामयिक विषयमा बोल्न आग्रह भयो ।
बामदेव गौतमले बसेरै आफ्नो सम्बोधन गर्न थाले । पत्रकार लगायत उपस्थित सबैले आफुसंग भएका क्यामेरा, ट्याव, फोनबाट फोटो खिच्न थाले । सबैलाई उनले व्यक्त गर्ने विचारप्रति निक्कै चासो थियो । त्यसकारण महासंघको सभाहलमा सियो खसेपनि सुनिने गरी सन्नाटा थियो । गौतम कमरेडले बोल्दै जानु भयो, सम्बोधनका क्रममा उनले समसामयिक राजनीतिक विषयमा केही कुरा राख्नु भयो र सिधै आफ्नो बारेमा बोले । उनले रामविर मानन्धरले राजिनामाको घोषणा गरेर आफुलाई सांसद बन्ने बाटो खुलाई दिनु भएकोमा धन्यवाद दिए । बामदेवलाई कसैले पनि पद छोडिदिदैनन् भन्नेहरुको बोल्ती बन्द भएको पनि बताए । बोल्दै जाँदा उनले अन्तिम शब्द यस्तो भन्नु भयो कि रामविरले राजिनामा दिए पनि त्यो कार्यान्वयन हुदैन र म आफु कुनै हालतमा कसैलाई राजिनामा गराएर निर्वाचनमा जाने कुरै हुदैन भन्ने घोषणा गरे ।
हल अचम्मित भयो । एकछिन सन्नाटा छायो, साच्चिकै उपस्थित सबैको अपेक्षा विपरित कमरेड गौतमले व्यक्त गरेको भनाई पछि एकापसमा खासखुस पनि चल्न थाल्यो । रामविरले राजिनामा दिएर चुनाव लड्न गरेको आग्रह र आफु चुनाव नलड्ने प्रतिवद्धताले बामदेव गौतम संसदमा जानका लागि मरिहत्ते गरेको छ भन्ने आफ्ना विरोधीहरुलाई गतिलो झापट हो गौतमले भन्नु भयो । सबैले तरररर…. तालि बजाएँ, नेता भनेको त यस्तो पो हुनु पर्छ ? मेरो आडैमा बसेका एक जनाले चर्कै स्वरमा भने । मैले पनि गज्जवले तालि बजाए, मलाई पनि पनि कमरेडको शब्दले अत्यन्तै खुशी तुल्यायो । खुशीले गद्गद् भए । आडैमा बसेका साथीहरुलाई खुशी बाड्न खोज्दा संगैको साथीले झर्कदै तपाई त सारै खराव मान्छे हुनु हुँदो रहेछ, किन मलाई कोपर्नु हुन्छ भने पछि पो म झसंग भएँ । गाडी एक रफ्तारमा दौडिरहेको रहेछ । काठमाडौंबाट रात्री बसमा बागलुङ जादै गरेको म सपनामै रमाएको रहेछु ।
त्यसपछि निन्द्रा लागेन, त्यहि कुराले मनमा घोची रह्यो । के मैले सपनामा देखेको जस्तै होला त ? बामदेव कमरेडले भोली पत्रकार सम्मेलन गरेर म निर्वाचन लड्दिन भन्नु होला त ? यस्तै यस्तै सोचेर मेरो यात्रा अगाडि बढ्यो । यतिबेला बामदेव गौतमलाई निर्वाचनमा होमाउने चलखेल भैरहेको छ । यसले उहाँ स्वयंलाई मात्र होइन, सिंगो नेपाल कम्युनिष्ट पार्र्टीलाई समेत ठुलो क्षति हुने निश्चित छ । कुनै कारण खाली भएको क्षेत्रमा लड्नु छुट्टै कुरा हो, काम गरिरहेको सांसदलाई राजिनामा गराएर निर्वाचनमा जानु अत्यन्तै घातक हुन्छ । मनमा भएको कुरा सपनामा पनि आएपछि सपनामा त निकै आनन्द लागेको थियो तर विपनामा के होला ? यस्तै प्रश्नले मलाई घेरिरहेको छ ।
नेपाली कांग्रेसले २०१५, २०४८ र २०५६ मा बहुमत प्राप्त गरेर पनि सरकार चलाउन सकेन जसका कारण आज कांग्रेस झण्डै झण्डै कोमामा छ, त्यही कांग्रेसलाई स्पेस दिने कामे गर्दैछौ भन्ने कुरा शिर्ष नेताहरुले मनन् गरेर जनताको चाहना अनुसार समृद्ध नेपाल निर्माणको अभियानमा लाग्न सके राम्रो हुन्थ्यो । मेरो यहा भन्दा बढी भन्ने र गर्ने हैसियत नै के छ र ? जनताको भावनालाई सत्ताको आडमा कुल्चदै जाँदा ज्ञानेन्द्र शाहहरु आज गुमनाम भएका छन् । अरु बामदेव र अन्य नेताहरुले नै जानुन् ।



















































































































































































































