१० कार्तिक २०८३, सोमबार

 

विश्व हात धुने दिवस , शौचालय संस्कृति र हामी

मानव हातको ठूलो महत्त्व र महिमा रहेको छ । हात हुनु ( हेर्नु , हाल्नु , दिनु , बस्नु , पार्नु , मिलाउनु , लाउनु आदि ) जस्ता हातसंग जोडिएका तुक्का प्रचलनमा छन् । यिनीहरुको समय सन्दर्भ अनुसार आ- आफ्नै लाक्षणीक अर्थ रहेको पाइन्छ । मानिसको कर्मशील अंग हात धुनेको लाक्षणीक अर्थ कुनै पेशा रोजगारीबाट निकालिनु भन्ने भए पनि विश्व हात धुने दिवसमा यसको अर्थ हातमा रहेका शुक्ष्म जिवाणु र अन्य हानिकारक भौतिक पदार्थ पानीको प्रयोग गरि हटाउने भन्ने सोझो तथा सामान्य नै रहेको छ ।

हाम्रा आँखाले देख्न नसकिने शुक्ष्म जिवाणुहरु हाम्रा सत्रु र मित्रु ( our unseen foe and friend ) दुबै रहेका हुन्छन् । दहि जस्ता वस्तुमा भएका जिवाणु मित्रु हुन भने विभिन्न रोगका जिवाणुहरु हाम्रा सत्रु हुन । रोगका जिवाणुलाई किटाणु भनिन्छ ।यहि हात धुने कुरा मानव सभ्यताको हजारौ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेकाले विश्व स्वस्थ्य संगठनले सन् २००८ देखि विश्व हात धुने दिवस अभियानको रुपमा मनाउन थालेको पाइन्छ । प्रत्येक वर्ष अक्टोवर १५ तारिकमा विश्व हात धुने दिवस मनाइन्छ ।

यस वर्ष यो दिवसको नारा “हात सफा गरौ , स्वास्थ्य लाभ गरौ” भन्ने रहेको छ । गत वर्ष यो दिवसको नारा ” हाम्रो हात हाम्रो भविष्य” रहेको थियो । हात मात्र धुने गरेमा पनि झाडापखला जस्ता रोग ४० प्रतिशतले र श्वास प्रश्वासजन्य रोग २३ प्रतिशतले घटाउन सकिने तथ्यांक दिइएको छ । नेपाल जस्तो देशमा स्वास्थ्यकर्मीहरुले समेत हातको स्वास्थ्य व्यवस्थापन ४० प्रतिशतले मात्र गरेको पाइएको छ । हात धुने र दिसापिसाब व्यवस्थापनबीच घनिष्ठ सम्बन्ध रहेको छ ।

सन् २००१ देखि नोमेम्वर १९ तारिकमा विश्व शौचालय दिवस मनाउन थालिएको छ । संयुक्त राष्ट्र संघका अनुसार ढाई अरब व्याक्तिहरुले अहिले पनि खुला दिसा गर्दछन् । नेपालमा सन् २०१७ सम्ममा खुला दिसामुक्त घोषणा गरि सक्ने भने पनि अहिलेसम्म ३० प्रतिशत भन्दा बढी व्याक्तिहरुले सौचालय प्रयोग गर्दैनन् । १९ प्रतिशत विद्यालयमा शौचालय नै नभएको युनिसेफले तथ्यांक दिएको छ ।नेपालमा २८ प्रतिशत विद्यालयहरुमा छात्रा शौचालय नभएको देखाएको छ ।

खाना खानु , खाना पकाउनु , बिरामी भेटनु जस्ता कार्य गर्नु अघिपछि र फोहर छोए, धुम्रपान गरे , दिसापिसाब गरे , खेतिपातीको काम गरे , जनावरको सरसफाइ गरे , बच्चाको डाइफर फेरे जस्ता कयौ कार्य गरे पछि हात धुनु पर्ने हुन्छ ।कम्तिमा बीस सेकण्ड साबुन पानीले मिचेर हात धुनु पर्दछ । हात धुदा घडि औठि समेत फुकाल्नु पर्दछ ।

हात धोइ सके पछि सुकाउन पनि आवश्यक ठानिन्छ । बिकासोन्मुख देशहरुमा पाँच वर्ष मुनिका बच्चाहरुको मृत्युको मुख्य कारण झाडापखला र निमोनिया रहेको छ । झाडा पखलाले कुपोषण गराउने तथा वालवालीकाको दिमागको बिकासमा नकारात्मक असर पु-याएको हुन्छ । मौसमी फ्लु छाला तथा आँखाको रोग जुका टाइफाइट हेपोटाइटिस जस्ता रोगहरु पनि हात धुनेसंग प्रत्यक्ष सम्बन्ध राख्दछन् । हात धुने चलन र व्यवहारमा मात्र पनि नियमित र प्रभावकारी गर्न सके धेरै रोगबाट बच्न सकिने ठानिन्छ ।

हाम्रो संस्कृतिमा चोखो हुनु र सफा हुनु दुई मान्यताहरु रहेको पाइन्छ । हामीकहाँ सफा हुनु भन्दा पनि चोखो हुनुमा जोड दिइन्छ । दुर्गन्धित बागमतीको पानीमा सुन चोपेर झर्केमा चोखो हुने ठानिन्छ । खाना खानु अघि हात धुनु भन्दा एक चम्चा पानी अर्चने ( हातमा हालि अलग्गै खाने )ले शुद्ध हुने ठानिन्छ । हामी गरिबलाई सधै हात धुन शौचालय बनाउन काहाँ पुग्दछ भन्नेलाई गरिब देश रुवाण्डाले चोटिलो जवाफ दिएको छ । ट्रोइलेट, चर्पि,शौचालय,रेस्टरुम जे भने पनि सभ्य मानवले मलमुत्र विसर्जन गर्ने ठाँउ नै बुझ्नु पर्छ । “बालक कालदेखि लागेको बानी काहाँ जाने” मा गहिरो मनोविज्ञान लुकेको छ ।

हात धुने र शौचालय जाने बानी वालककालदेखि नै सिकाउनु पर्दछ ।सबैभन्दा फोहरी ठाँउ जनाउने उपमाको रुपमा शौचालयलाई लिने हाम्रो परम्परा छ । विद्यार्थीलाई सजाय दिनु प- यो भने शौचालयमा थुन्ने प्रचलन पनि अझै हटिसकेको छैन । नेपालका ठूलाठूला दरबारहरुमा शौचालय नबनाएको पाइन्छ । राजा माहाराजा दरवारीया ठूला खानदानका व्यक्तिहरु घरका एउटा कोठामा कोपरा र पानी राखिएको हुन्थ्यो । तिनीहरुले त्यहि दिसापिसाब गर्दथे । नोकर चाकरले त्यो दिसापिसाब भोलिपल्ट खाडलमा पुर्ने गर्दथे ।

गाउँघरतिर पनि ठूलावडाहरुले कोपराको प्रयोग गरि खानदानको सान राख्दथे । जंगबहादुर वेलायत गई फर्के पछि मात्र आधुनिक शौचालयको संस्कृति नेपालमा भित्रिएको पाइन्छ । दरवार र शौचालयको प्रसंगमा आफु विद्यार्थी कालमा एउटा भत्तावाला भुरे राजा र उनको दरवार हेर्न लधु शैक्षिक भ्रमणमा जादा देखेको शौचालय र शैक्षिक भ्रमणमा लैजाने नेपाली विषयका शिक्षकले दिएको शौचालयको शाब्दिक अर्थ यहाँ उल्लेख गर्न सान्दर्भिक लाग्दछ ।

दरवारको कोठा चोटा बगैँचा राजा तबेला झ्यालखाना हेरि सकेपछि राजाले दिशा गर्ने ढुग्गो ( चर्पी) हेरियो । दिसालाई शौच र आलय भनेको थुप्रोको सन्धी भई शौचालय बनेको हो भनि ढुङ्गोभन्दा केही तल दिसाको थुप्रो देखाई शिक्षकले सार्थक अर्थ दिएका थिए ।कयौं व्यक्तिले आजभोली पनि शौचालयमा दिसा आउदैन भनि खूला ठाँउमा दिसा गरे झै त्यतिबेला राजालाई पनि कोपरमा दिसा नआएको हुनुपर्छ । यो ढुङ्गो अहिले राजाले दिसा गर्ने ढुङ्गोको रुपमा ईतिहास बोकिरहेको छ । नेपालको शौचालय संस्कृतिमा पंतिकारले देखेका केहि परिदृश्य उल्लेख गर्दा सान्दर्भिकै हुनेछ भन्ने ठानेकोछु ।

एकजना स्वास्थ्य शिक्षा कै क्षेत्रमा काम गर्ने अन्तराष्टि्य गैर सरकारी संस्थाका विदेशी गोरे साथीलाई आफ्नो घरमा ल्याएर आएका थिए । उनको घरमा शौचालय नभएकाले आफ्नो छिमेकीको बारिमा पठाएको विषयको झगडाले कचरी नै बस्नु परेको थियो । अब शौचालय र हात धुने संस्कृति बारे विदेशमा विगत र वर्तमानको केही झलक दिन चाहन्छु । धेरै अफ्रिकि देशहरुमा हात धुने ल्कव गठन गरि विद्यार्थीको माध्यमबाट अभिभावकहरुलाई सिकाउने प्रयास गरेको पाइन्छ ।युनिसेफले विभिन्न देशका स्कुलका विद्यार्थीहरुलाई “Good morning water / soap Goodbye microbes” जस्ता अभिवादनका पदावली प्रयोग गर्न लगाइएकोछ ।

भारतमा शौचालय संस्कृतिको विकासको लागि “ट्रोइलेट एक प्रेम कथा” नामक चलचित्र निर्माण गरि जनचेतना जगाउने काम भएकोछ । शौचालय निर्माणको लागि भारतमा माहात्म गांधिले शौचालय नभएको घर अछुतो हुन्छ भनि अभियान संचालन गरेको पनि धेरै वर्ष बितिसक्यो । विपि कोइराला चिनको भ्रमण जादा बाटोमा साइनबोर्ड टागेको देखे पछि त्यसमा के लेखेको छ भनि दोभाषेलाई सोधेछन् । “दिसा आफ्नै बारिमा गर मल खेर नफाल” भनि लेखेको कुरा दोभाषेले बताएका थिए ।

उक्त कुरा बिपिले आफ्नो आत्म बृतान्तमा लेखेका छन् । स्पेनमा कसैले ढोका ढकढकायो भने उसलाई आफ्नो शौचालय प्रयोग गर्न दिनु पर्ने मान्यता छ । क्युवामा शौचालय जादा पेपर आफै लानु पर्छ । चिन र रुसमा अधिकांश सामान्य शौचालय प्रयोग गरिन्छन् ।भारतको बिहार राज्यको एउटा गाँउमा सम्पन्न परिवार पनि शौचालय प्रयोग गर्दैनन् ।

घरमा शौचालय बनाएमा घरको जेठो छोरो मर्दछ भन्ने ठानिन्छ । संयुक्त राज्य अमेरिकामा हात धुने र सुकाउने व्यवस्था अती आधुनिक भए पनि खुट्टा मात्र धुने व्यवस्था नभएको देखियो । सार्वजनिक स्थानमा मुखैमा पानी थापि वा बोतल भरि खाने व्यवस्था गरेको पाइयो । युएसएका एक तिहाइ भन्दा बढी राज्यको यो पंतिकारले भ्रमण गर्दा प्रत्येक राज्य प्रवेश गर्ने बितिक्कै पर्यटक स्वागत केन्द्र रहेको तथा ती स्वागत केन्द्रमा रहेका शौचालय, हात धुने,पानी खाने जस्ता व्यवस्थाको स्तरले त्यो राज्यको आर्थिक हैसियत झल्कने गरेको पाइयो ।

नेपालमा केही वर्ष अघि जुम्लामा नौलो मानिस घरमा नआहोस् भनि घर वरिपरि दिसापिसाब गर्दछन् भनि रेडियो नेपालबाट समाचार आइरहदा जापानमा बिरालोको लागि महंगो शौचालय बनाएको समाचार पनि आइरहेको थियो । पश्चिम नेपालका पाहाडी कयौं ठाँउहरुमा केही वर्ष अघि अगुवाको घरमा पनि शौचालय नभएकाले बाटोको छेउछाउमा दिसा गर्ने गरेको भेटिन्थे ।

यसबाट “जो अगुवा उहि बाटो हगुवा” भन्ने उखानको सोझो अर्थ झल्कान्थ्यो । विराठनगरको जोगबनीको रेल स्टेसनमा वर्षौ अघि वालवालिकाहरु सुकेका दिसाबाट घर बनाई खेलेको दृश्य यो पंतिकारको सम्झनाबाट हटन सकेको छैन् । यी माथि भनिएका ठाँउहरुमा अहिले शौचालय बनेका हुन कामना छ ।

नेपालको पश्चिमी पाहाडि भेगमा मार्सवाद बर्ग संघर्ष जस्ता जटिल राजनैतिक दार्शनिक सवालको जवाफ दिन सक्ने तर सामान्य हात धुनु पर्छ भन्ने नजान्ने गरेको कुराले पनि एक पटक निकै चर्चा पाएको थियो । स्वस्थ्य शिक्षा सबैले लिनेदिने कुरामा अवश्य कमजोरी रहेको आभास यसले दिन्छ । पाहाडतिर डहरो गल्लि र तराईतिर बस्ती छेउछाउमा दिसा गर्ने प्रचलन हटेको छैन । शौचालय दिसा गर्नका लागि मात्र हो पिसाबका लागि होइन भन्ने मानसिकता पनि धेरैमा रहेको छ ।

होटलहरुमा खाना दिने जुठा भाडा उठाउने व्यक्ति एउटै हुने र हात नधुने गरेको पाइन्छ । नेपालका कयौं अस्पतालका ल्यपहरुमा काम गर्ने व्यक्तिहरुले आफ्नो हातमा लगाएको रक्ताम्वे ग्लोप नफेरि कनै कार्य गरेको पाइन्छ । दुर्गम तथा पिछडिएको समुदायमा अहिले सम्म पनि सुगुरको खोर नै शौचालयको रुपमा प्रयोग गरिरहेका छन् ।

नेपालका विद्यालयहरूमा शिक्षक स्टाफको लागि छुट्टै शौचालय कक्ष बनाइ केहिमा सावुनको व्यवस्था भए पनि शौचालय भएका धेरै विद्यालयहरुमा सावुनको व्यवस्था छैन । साबुन नै प्रयोग गर्दैनन्, सावुन राखेर साध्य छैन वा सावुन चोरेर हैरान हुन्छ भन्ने जस्ता तर्क शिक्षक तथा विद्यालय प्रशासनले दिए पनि शिक्षकहरु कै दरिद्र मानसिकताबाट अभिव्यक्त यी कुतर्क नै हुन भन्न सकिन्छ । हाम्रा केही विद्यालयहरुमा शौचालयको प्रचारको लागि विद्यार्थीको हाजिरी लिदा विद्यार्थीले आ-आफ्नो अवस्था अनुसार “शौचालय छ” “शौचालय छैन” ” शौचालय बन्दैछ” भनि बोल्नु पर्ने अभ्यास गरिएको पाइन्छ ।

शौचालय बनाउने कार्यमा वालवालिकाको कुनै भुमिका नहुने हुदा विद्यालयमा लज्जित बनाउनुको कुनै अर्थ नरहने तर्क पनि दिइन्छ । अहिले गाउँघर तिर पाहुना आउदा बोरा वा टाट झुण्डाएर अस्थायी प्रकृतिको शौचालय बनाइ इज्यत थाम्ने प्रचलन सरकारले विदेशी विशिष्ट पाहुना काठमाण्डौ आउदा देशको इज्यत थाम्न अस्थायी रुपको झिलिमिलीको तामजामको संस्कृति कै नक्कल गरेको जस्तो लाग्दछ । अहिले धेरै नेपालीहरु विदेश गइ स्वदेश फर्केपछि पक्की शौचालय बनाउने प्रचलन वढिरहेको छ । मानसिक तयारी र आर्थिक सक्षमता दुबैको कारणले यसो हुन बल पुगिरहेको छ ।नेपालमा पर्यटकको आगवन र होम स्टेको विकास हुँदै जादा शौचालय संस्कृतिमा पनि विकास हुँदै गएको पाइन्छ ।

नेपालमा हात धुने र शौचालय संस्कृतिको बर्तमान केही झलकहरु र सूधारका लागि भएका प्रयास बारे दिन सान्दर्भिक ठानिएको छ । गाउँगाउँमा गठन भएका सामाजिक ल्कवहरु आमा समूह गैरसरकारी संघ संस्था लगुवित्त संस्थाहरु स्वस्थ्य स्वयमसेबिकाहरुले पनि हात धुने र शौचालय निर्माण र प्रयोगमा सचेतना जगाउने काम भैरहेको छ ।कयौं ठाउँमा बनेका शौचालयहरु पनि चेतना र पानीको अभावमा प्रयोग बिहिन भएका छन् । शहरी क्षेत्रमा सार्वजनिक शौचालय नहुदा बटुवा,महिला, ट्राफिक प्रहरी, महिला ट्याम्को चालक, सडक वालवालीका, अपांग आदिलाई धेरै कष्ट बेहोर्नु परिरहेको छ ।

सिनेमा घर अस्पताल र विद्यालयमा पनि शौचालयको दुरावस्था रहेको छ । “आफ्नो हात जगन्नाथ” भनि हात धुने कार्यमा पनि हेलचक्राई गरेको पाइन्छ । विकसित देशहरुमा काँटा चम्चाले खाना खाने गरे पनि हामी अधिकांशले हातैले खाने गर्दछौ । हातले खाना खाने गर्दा खाना चिसो तातो थाहा हुने मात्र होइन बरु हात मुख पेट र दिमागको विशेष सम्बन्धले एउटा मुन्द्रा सिर्जना भइ खानाबाट सार्थक लाभ लिन सकिने पूर्विय मान्यता रहेको पाइन्छ ।

 

विकसित देशमा ट्रोइलेट पेपर शौचालयमा प्रयोग हुन्छ भने हामीकहाँ अधिकांश पानीको प्रयोग हुन्छ । अहिले हामीकहाँ आधुनिक शौचालयहरु पनि बनिरहेका छन् ।शौचालय एउटा अध्ययन कक्षको रुपमा पनि विकास भैरहेको छ । गाउँघरतिर अहिले धेरै खर्च गरेर घर निर्माण गर्ने प्रचलन बढीरहेको छ ।

तर शौचालय निर्माणमा भने उदासीनता देखाइन्छ । हामी लाखौको फोनसेट प्रयोग गर्दछौ तर दस रुपैयाको खोल राख्दछौ । शौचालयको अभावमा एउटा महिलाले अझ घेरै कष्ट वेहोर्नु पर्दछ । एउटी महिला आफ्नो जीवनकालमा आठ वर्ष रजश्वला हुन्छिन् भनिन्छ । अन्य देशमा महिलाको शारीरिक संरचनाका कारणले शौचालयमा पिसाब भेर्दा किटाणुको संक्रमणबाट बच्न विशेष किसिमको पाइप प्रयोग हुन थालि सके पनि नेपालमा छात्राहरुको लागि र अपांगहरुको लागि छुट्टै प्रकृतिको शौचालय चाहिन्छ भन्ने बुद्धि नीति निर्माताहरुमा पलाएको पनि धेरै भएको छैन ।

खूला शौच गर्नु पर्ने बाध्यताले महिला लज्जीत मात्र बन्नु परेको छैन हिंसा र बलत्कारको शिकार पनि बन्नु परेको छ ।गाउँघरतिर शौचालय निर्माणमा दबाब दिन केही संस्थाहरुले स-साना वालवालिकाहरु प्रयोग गरिरहेको पनि पाइन्छ । जसले सार्वजनिक ठाउँमा दिसा गर्न थाल्दछ वालवालिकाहरु सिठी फुक्दछन् । दिसा गरि सकेपछि उक्त व्याक्तिको नाम कागजमा लेखी टाँगिन्छ । वालवालिकालाई यस्तो काममा लगाउनु उचित हो वा अनुचित सोच्नु पर्ने हुन्छ ।

अहिले शौचालयको सूविधा भएका बसहरु पनि संचालन भैरहेका छन् । यस्ता बसहरु सर्वसाधारणको पहुँचभित्र रहेका छैनन् । नेपालका शहरी क्षेत्रका अस्पतालहरुमा सुत्केरी आमा तथा नवजात बच्चा भेटन आउने आफन्तहरुको भीड लाग्ने गर्दछ । हात नधोइ बच्चा समात्ने गर्दा विभिन्न रोगको संक्रमण हुने पक्षमा पनि हेलचक्राइ भैरहेको छ । अभिवादनको लागि हात मिलाउने प्रचलन पनि स्वस्थ्यको लागि उचित ठानिदैन ।

मानिसले खाए पछि विसर्जन गर्न पाउनु प्राकृतिक तथा नैसर्गिक अधिकार हो । त्यसैले शौचालय हाम्रो लागि आधारभूत आवश्यकता अन्तर्गत पर्न आउँछ ।एक दिनभरिमा मानिस सबभन्दा बढी जाने ठाँउ शौचालय हो । त्यसैले शौचालय दृष्टि कर्ण र नासिका मैत्री हुनु पर्ने मात्र होइन किटाणु रहित पनि हुनु पर्दछ । सबभन्दा ठूलो सत्रु रोग हो भन्ने मान्यता भए पनि रोगका वाहक किटाणु हुन भन्ने तर्फ कम ध्यान गएको पाइन्छ । हात धुने र शौचालय व्यवस्थापन तर्फ सामान्य ध्यान पु-याई किटाणु रुपि हाम्रा सत्रुलाई समयमै हटाउनु बुद्धमानी हुन्छ ।

आमाबावु र शिक्षकले वालवालीकाहरुलाई वाल्यकालदेखि नै राम्रा बानीहरुको विकास गराउन आफुहरुले पनि राम्रा बानीहरु अगाल्न आवश्यक हुन्छ । बाल्यकालमा सफाइ गर्ने बालबालिकाहरु जब ठूला हुन्छन् आफु र आफु वरिपरिको फोहरको प्रतिकार गर्दछन् भनिन्छ । हामीकाहाँ बालबालिका हु्र्किदादेखि नै सफाई गर्ने काम महिलाको हो भन्ने सिकाईमा परिवर्तनको खाँचो छ । हात खुट्टा मैला जमेका सिगान छाडेका साना कक्षाका बिद्यार्थीहरुलाई स्वस्थ्य बिषयको सैद्धान्तिक पाठ घोकाउनु सट्टा एउटा साबुन लिएर धारा वा पानी भएको ठाँउमा लगेर हातखुट्टा धुन लगाउनु प्रभावकारी शिक्षण हुन्छ ।

” विदेशमा गएर शौचालय सफा गर्ने ” भनि ठालुहरुले तुच्छाउने संष्कारमा पनि परिवर्तनको खाँचो छ । लुग्गि लगाएर लोटा समाइ अग्ला घाँस भित्र चिरेको दृश्य हाम्रो शौचालयको अंग बनाई रहदा टोपी लगाइ बाटो छेउछाउतिर बसि झारपात प्रयोग गर्नेले तथा दोचा बक्खु लगाउनेले आफ्नो शौचालय संस्कृतिप्रति अन्याय गरिएको भन्न पाउने अवस्था छ । एउटा विद्यालयमा नवनिर्मित शौचालय भवनको उद्घान गर्न विद्यालय स्रोत व्याक्ति समेतले अपमान हुने सम्झि इन्कार गरेका थिए ।त्यहि शौचालयको केही समय पछि विश्व स्वस्थ्य संगठनका एसिया माहादेशका उच्चतम व्यक्तित्वबाट शौचालयको बनोट , सरसफाई, प्रयोगको अबस्था बारे जान्न स्थलगत निरीक्षणको क्रममा घण्टौ समय निजले शौचालयमा बिताएको यी दुबै परिदृश्य यो पंतिकारलाई पदिय रुपले सहाल्नु परेको थियो । सफाई र शौचालय सभ्य समाजको पहिचान हो।

यदि हामीहरु आफ्नो गाउँ ठाँउलाई साच्चिकै दिसा मुक्त क्षेत्र बनाउन चाहन्छौ भने हाम्रो ठाउँमा आउने जोसुकैलाई शौचालय प्रयोग गर्न दिनु पर्दछ । जंगली जनावरको एक प्रजाति “भार्से ” ले समेत व्यवस्थित रुपमा मलमुत्र त्याग्दछ । एक सय ग्रामको चरा गौथलीले आफ्ना बचेराको बिष्ट हटाइ गुँडको सफाइ दिनको धेरै पटक गर्दछ ।

तर मानव सर्वश्रेष्ठ प्राणी आजको युगसम्म आइ पुग्दा पनि हात धुने र शौचालय व्यवस्थापनको लागि दिवस मनाउनु पर्ने बिडम्वना नै मान्नु पर्दछ । आजभोली हामीकाहाँ ठूलो खर्च गरि महोत्सव , मेला , पर्व , हाटबजारको आयोजना गर्ने प्रचलन बढेकोछ ।

यस्ता जमघटमा दिसापिसाबको लागि छटपटाई रहेका व्याक्तिहरुको मर्का आयोजकले नबुझेको वा बुझ पचाएको मानसिकतामा पनि परिवर्तनको खाँचो देखिन्छ । अहिले हामीकाहाँ सबै क्षेत्र तह र ठाँउका नीति निर्माण र कार्यान्वयन अंगमा समानुपातिक समावेशी प्रतिनिधित्व बनाइएको अबस्था छ । राजनैतिक सामाजिक आर्थिक कारणले होस् वा स्थान अवस्था बाध्यता वर्ग संष्कार भोगाइ अभ्यास आदि जेसुकै कारणले भए पनि हात धुने र शौचालय प्रति फरक फरक धारणाको पनि प्रतिनिधित्व रहेको छ ।

घरमुलीदेखि केन्द्रीय संसद सरकार ( जसको हातमा बजेट अधिकार जिम्मेवारी उत्तरदायीत्व रहेको हुन्छ ) ले यस क्षेत्रको अहिलेको संस्कृतिलाई सुसंस्कृत सुसंष्कार बनाउन आजको यस विश्व हात धुने दिवस र आउदै गरेको शौचालय दिवस प्रेरणादायी बनोस् ।धन्यवाद !

hishivapandey@ gmail.com
हाल: USA

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung