बारबर्दिया नगरपालिका, १० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीय महिलालाई निको पारिदिन्छु भन्दै पटक पटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि उपचार गर्ने भन्दै बलात्कार गर्ने गरेको पीडित महिलाले बताए ।
पीडित महिलाका अनुसार थारुले राति फोन गरेर यौन सम्बन्ध राख्न दिए निको गरिदिने प्रलाेभनमा बलात्कार गर्ने गरेका थिए । गुरुवाले झारफुक गरेर निको भइहाल्छ कि भनेर सुरुवातमा भएको यौन दुव्र्यवहारपछि बलात्कार पनि सहेर बसेको पीडित महिलाको भनाइ छ ।
उनले भनिन्, ‘रोग निको भइहाल्छ कि भनेर आफूमाथि भएकाे बलात्कार कसैलाई भनेको थिइन । तर मनमा पीडा भएपछि न्यायको लागि प्रहरीमा गएको हुँ ।’ पीडितले कात्तिक १६ गते इलाका प्रहरी कार्यालय बाँसगढीमा आफूलाई बलात्कार गर्ने सुब्बा थारुविरुद्ध जाहेरी दिएकी छन् ।
पीडितले जाहेरी दिएको स्वीकार गर्दै थप अनुसन्धान गरी जाहेरी दर्ता गरी कानूनी कारवाही अगाडि बढाउने इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले बताए । उनका अनुसार घटनाका आरोपित सुब्बा थारुलाई कात्तिक १६ गते नै पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा परीक्षण गराउँदा डाक्टरले क्यान्सर भएको भनेपछि सोही अनुसार उपचार गराइरहेकी छन् । पीडित महिलाको श्रीमान वैदेशिक रोजगारमा छन्, छोराहरु पनि घर बाहिर हुने गरेकाे बताइन् ।



















































































































































































































