नुवाकोटको लिखु गाउँपालिकाका विभिन्न स्थानमा स्यालले आतंक मच्चाएको छ।
जंगलबाट बस्ती पसेको एउटा स्यालले वडा नं १ को ढिकुरेबजार, वडा नं ४ को चौघडाबजार लगायत आसपासका १५ जनाभन्दा बढी मानिसलाई टोकेको हो।
ढिकुरेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक पूर्णबहादुर लामाका अनुसार स्यालले शनिबार ढिकुरे बजारका चन्द्रबहादुर थापामगर, कोपिला थापामगर, ज्योति थापामगर, सोनम थापामगर, गीता नेपाली र वडा नं ३ का भीम रिजाललाई टोकेको हो।
घाइतेको उपचार त्रिशुलीस्थित जिल्ला अस्पतालमा भइरहेको छ। प्रहरीका अनुसार शनिबार साँझ नै लिखु गाउँपालिका वडा नं ४ चौघडा बजारमा पुगेको सोही स्यालले त्यहाँ पनि स्थानीय नौ जनालाई टोकेर घाइते बनाएको छ।
बस्ती पसेको स्याल बौलाहा हुनसक्ने भएकाले त्यसको टोकाइबाट रेबिज लगायतका रोग सर्नसक्ने भएकाले सचेत हुन प्रहरीले आग्रह गरेको छ। रासस

































































































































































































