प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानसँग बाझिएका दुई सयभन्दा बढि कानुन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
संवैधानिक व्यवस्था अनुसार आगामी फागुनको पहिलो साता भित्र संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सरकारले विशेष ध्यान दिनुपर्ने उनले बताए । सभामुख महराले संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रीत गर्न सरकारलाई सुझाव दिए ।
मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ‘ऐन कार्यान्वय मापन तथा अध्ययन अनुसन्धान’सम्बन्धि एक दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले संविधान बमोजिम कानुन बने/नबनेको विषयमा संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता औंल्याए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदको कामलाई प्रभावकारी बनाउने मूल दायित्वलाई पूरा गर्न संघीय संसदका सबै सांसदहरुलाई सचेत गराए । उनले संसदीय समितिमा सदस्यहरुको अनुपस्थितिका कारण बैठक समेत बस्न नसक्ने अवस्था आएको उल्लेख गर्दै त्यसो नगर्न संघीय संसदका सबै सांसदहरुको ध्यानाकर्षण गराए ।
कार्यक्रममा समितिका सभापति परशुराममेघी गुरुङले ऐन निर्माण र कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन समितिले सो गोष्ठीको आयोजना गर्नु परेको बताए ।

































































































































































































