७ जेष्ठ २०८१, सोमबार

 

नरेन्द्र–लालकुमारी बचाउ अभियानमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानबाट २२ हजार सहयोग

नरेन्द्र–लालकुमारी बचाउ अभियानमा धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङले  २२ हजार २ सय २२ रुपैयाँ सहयोग प्रदान गरेको छ । प्रतिष्ठानमा प्रध्यापन गर्ने शिक्षक, अध्ययन गर्ने विद्यार्थी तथा कर्मचारीले एकमुष्ठ उठाएर यो रकम प्रदान गरेका अभियानका संयोजक दिवश खत्रीले जानकारी दिए ।

एप्लाष्टिक एनेमियाबाट प्रभावित ताराखोला गाउँपालिका–५ का नरेन्द्र घर्ती र पेटको क्यान्सरबाट प्रभावित ताराखोलाकै वडा नम्बर–४ की लालकुमारी पाण्डेको उपचारको लागि प्रतिष्ठनले यो सहयोग रकम उपलब्ध गराएको हो । दुबैजनाको उपचारमा ठूलो धनराशी खर्च भएको र उनीहरुको आर्थिक अवस्था कमजोर रहेका कारण अभियान सञ्चालन गरिएको खत्रीले बताएका छन् ।

‘उहाँहरु दुबै जनाको आर्थिक अवस्था नाजुक रहेको अवस्थामा उपचारमा ठूलो रकम लाग्ने भएपछि हामीले सक्दो सहयोग गरौँ भनेर अभियान सुरु गरेका थियौँ,’ खत्रीले भने, ‘धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठानका अध्यक्ष हिराबाहादुर केसी र प्रन्सिपल गणेश गोदारको विशेष भूमिकामा त्यहाँका विद्यार्थी, शिक्षक र कर्मचारीले गरेको यो सहयोगप्रति हामी आभारी छौँँ ।’

अभियान अन्तिम चरणमा पुगेकाले अब जुटेको सहयोग सम्बन्धित विरामीलाई प्रदान गर्नुपर्ने भन्दै खत्रीले प्रतिवद्धता जनाएका सहयोगदातालाई रकम प्रदान गरिदिन आग्रह गरेका छन् । अभियानमा अहिलेसम्म ६८ हजार रुपैयाँ जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्