३१ बैशाख २०८१, सोमबार

 

शितयुद्ध अन्त्य गर्ने क्रममा भएका सम्झौतालाई तोड्दै रुसले मिसाइल विकास गर्ने, अमेरिकालाई ठूलो झट्का

 

अमेरिकासँगको शित युद्ध अन्त्य गर्ने क्रममा भएको सम्झौतामा प्रतिबन्ध गरिएका मिसाइल विकास गर्ने रुसले चेतावनी दिएको छ ।

अमेरिका शित युद्ध अन्त्य गर्ने बेला भएको सम्झौता आइएनएफ अर्थात इन्टरमिडिएट–रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट बाहिरिएमा आफूहरुले मिसाइल निमार्ण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चेतावनी दिएका हुन् ।

नेटोले मंगलबार रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएपछि पुटिनको यस्तो चेतावनी आएको हो । सन् १९८७ मा तत्कालीन सोभियत युनियन र अमेरिकाबिच भएको सन्धिपछि दुवै देशमाथि छोटो तथा मध्यम दूरीका मिसाइल प्रयोग र उत्पादनमा प्रतिबन्ध लागेको छ ।

तर नेटोले आफ्नो देशमाथि सन्धि उल्लंघन गरेको भनेर लगाएको आरोप सन्धिबाट अमेरिका बाहिरिने बहाना रहेको पुटिनको भनाई छ ।

टेलिभिजनमार्फत प्रशारण भएको प्रतिक्रियामा पुटिनले अरु धेरै देशले आइएनएफ अन्तर्गत प्रतिबन्धित आणविक हतियार निर्माण गरेको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘अब हाम्रा अमेरिकी साथीहरुलाई लागेको हुन सक्छ कि परिवर्तित परिवेशमा हामीसँग पनि यस्ता हतियार हुनु पर्छ, त्यसले सन्धिबाट बाहिरिने बहाना खोज्दै हुनुहुन्छ ।’

उनले अघि भनेका छन्, ‘यसमा हाम्रो प्रतिक्रिक के हुन्छ, सजिलो छ–हामीले पनि मिसाइल निर्माण गर्छौँ ।’

केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन्धिबाट बाहिरिने बताएका थिए र उनले यसको कारण रुसी गतिविधि रहेको बताएका थिए ।

मंगलबार पश्चिमा देशको सैन्य गठबन्धन नेटोले औपचारिक रुपमा रुसमाथि आइएनएफ उल्लंघन गरेको आरोप लगाएको थियो ।

अमेरिका र रुसबिच सन् १९८७ मा मध्यम स्तरको परमाणु शक्ति (आइएनएफ) सन्धि भएको थियो ।

तत्कालीन सोभियत युनियनका नेता मिखाइल गोर्बाचोभ र तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले आइएनएफमा सन् १९८७ मा हस्ताक्षर गरेका थिए ।
यो सन्धिले स्थलमा हुने मध्यम स्तरका परमाणु हतियारको प्रक्षेपणमा रोक लगाएको थियो । अर्थात यो सन्धि अनुसार ५०० सय देखि ५५ सय किलोमिटरको दूरीसम्म मार हान्न सक्ने मिसाइल परीक्षण गर्न पाईँदैन ।

प्रतिक्रिया दिनुहोस्