१० कार्तिक २०८३, सोमबार

 

ह्वावेइ सङ्कट के एउटा नयाँ शीतयुद्धको शुरूवात हो?

ईभा ओन्टिभेरोस

विश्वका दुई ठूला अर्थतन्त्र चीन र अमेरिकाले व्यापारिक युद्धलाई एक कदम अगाडि बढाएका छन् र प्रविधिको क्षेत्रमा अबका दिनमा कसले अगुवाइ गर्ने भन्ने विषय पेचिलो बनेको छ जुन ”नयाँ शीतयुद्ध हो”।

केही हप्ता अघिसम्म चिनियाँ कम्पनी ह्वावेइ विश्वकै सबैभन्दा ठूलो टेलिकम नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित थियो।
उक्त कम्पनीसँग विश्वभरिका देशलाई फाइभ जी नेटवर्क उपलब्ध गराउनका लागि सम्झौता थियो।

तर वाशिङ्गटनले चीनलाई इरानमाथि लगाइएको प्रतिबन्ध तोडेको र पश्चिमा सरकारी एजेन्सीहरूले ह्याकिङ गरेकोजस्तो सङ्‌गीन आरोप लगाएपछि उक्त अनुबन्धन अमेरिका, अस्ट्रेलिया र न्युजिल्याण्ड जस्ता विश्वका केही महत्त्वपूर्ण देशले तोडेका छन्।
ब्रिटेन र क्यानडाले पनि सोही बाटो अपनाउन सक्ने सम्भावना छ।


र, यसले चीनको ”ग्लोबल टेक प्लेयर” बन्ने महत्त्वाकांक्षामाथि क्षति पुर्‍याउन सक्छ जसकारण बेइजिङ उक्त घटनाक्रमको विरोध गर्ने मनसायमा देखिन्छ।

चिनियाँ उपभोक्ताहरूले समेत अमेरिकी सामानमाथि प्रतिबन्ध लगाइनुपर्ने माग राखेका छन्।
उनीहरू यसको शुरूवात एप्पलको फोन र ट्याबलेटबाट होओस् भन्ने चाहन्छन् ।
जसबारे अमेरिकी मिडियाले समेत ”अमेरिकाले अघोषित रूपमा गोप्य युद्ध शुरू गरेको हो कि” भन्नेबारे आश्चर्यमा परेका छन्।

”चीन र अमेरिका- शीतयुद्ध २.०”
ह्वावेइ कम्पनीको मुख्य वित्तीय अधिकारी तथा उक्त कम्पनीका संस्थापककी छोरी मङ्ग वान्जूको क्यानडामा ‘आश्चर्यजनक’ गिरफ्तारीका कारण दुई देशबीचको विवाद झन् बढेको थियो।

उक्त कम्पनीलाई चिनियाँ अधिकारीहरूको नजिक रहेको र इरानलाई टेलिकम उपकरण बेचेको आरोप लगाएको अमेरिकाले मङ्गको सुपुर्दगीको माग गरेको छ। दोषी पाइए उनलाई ३० वर्षसम्मको कारावास सजाय सुनाइन सक्छ।

”उक्त परिस्थिति जेसुकै भए पनि यसले चीनलाई आफूविरुद्धको नयाँ शीतयुद्धको थालनीको जनाउ घण्टीको रूपमा लिएको छ,” ग्राहाम एलिसनले बीबीसीलाई बताए।


चिनियाँ अधिकारीहरूले हालको घटनाक्रमलाई अमेरिकाले विश्वव्यापी रूपमा शुरू गरेको टकरावका रूपमा हेरेको बताउँछन् हार्वर्ड केनेडी स्कुलको बेलिस् सेन्टर फर साइन्स एन्ड इन्टरनेशनल अफेयर्सका निर्देशक एलिसन।
एशियाली, युरोपेली र अमेरिकी प्रविधि टिप्पणीकारहरूले समेत अमेरिका र चीनको बीचमा हाल भइरहेको घटनाक्रमलाई नयाँ शीतयुद्धको संज्ञा दिइरहेका छन्।

मङ्गले कुनै पनि किसिमको गलत काम नगरेको बताएकी छन्।
तर उनको नजरबन्दले भने बेइजिङ र वाशिङ्गटनबिच भइरहेको तिक्तता उजागर गरेको छ।
एलिसनका अनुसार चीनसँग ”हरेक क्षेत्र र महत्त्वपूर्ण मानिएका प्रविधिमा” प्रतिस्पर्धा हुनेछ।
”आफ्नो सुरक्षा छाता अन्तर्गत रहेका मुलुकहरूलाई अमेरिकाले गम्भीरतापूर्वक दूरसञ्चार र इन्टरनेट नेटवर्कमा ह्वावेइको उपकरणलाई सुरक्षा चुनौतीसँग जोड्दै खरिद नगर्न प्रेरित गरिरहेको छ,” एलिसनले थपे।

बहिष्कारले ह्वावेइको व्यापारमा असर पार्न सक्नेछ

इरानमाथि लगाइएको प्रतिबन्धको बेवास्ता गर्दै चीनले उसलाई दूरसञ्चारको उपकरण बेचेको र अमेरिकी प्रशासनले लगाएको ह्याकिङ गरेको जस्तो आरोप ह्वावेइको व्यवसायको लागि घातक सिद्ध हुन सक्छ।


विभिन्न देशका सरकारले आफ्नो देशको दूरसञ्चार प्रणालीलाई ”ब्याक डोरबाट” बेइजिङलाई नेटवर्कमा पस्न अनुमति दिने शङ्का गरिएको कम्पनीको हातमा छोड्ला?

सन २०१५ यता ह्वावेइ विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क उपकरण कम्पनीको रूपमा स्थापित छ।
एरीक्सन, नोकिया, जेडटीई र सामसङ् जस्ता कम्पनीलाई उछिन्दै ह्वावेइउक्त स्थानमा पुगेको हो।

ह्वावेइका अनुसार हालसम्म उसले फाइभ जी को २५ व्यावसायिक अनुबन्ध प्राप्त गरेको छ भने १०,००० भन्दा बढी फाईभ जी स्टेशन विभिन्न मुलुकलाई बेचेको छ।

सन् २०१८ सम्ममा ह्वावेइले कम्पनीको राजस्व एक सय अर्ब डलर पुग्ने बताएको छ।
तर अमेरिका भने उक्त कम्पनीको चिनियाँ सरकारी अघिकारीहरूसँगको निकटताले कम्पनीको उदय रोक्न सक्ने बताएको छ।
ह्वावेइले भने सबै किसिमका दावीहरूलाई गलत भन्दै ”त्यस्तो कुनै ठूलो हमलाको सबुत नभएको,” बताएको छ।

ह्वावेइले आफ्ना ग्राहकहरूले कम्पनीप्रति अझै पनि विश्वास रहेको टिप्पणी गरेको छ।
”कम्पनीबारे बजारमा केही डर फैलाउने प्रयास र प्रविधि उद्योगको वृद्धिलाई राजनीतिमार्फत् हस्तक्षेप गरिए पनि हामी गर्वका साथ भन्न सक्छौँ कि हाम्रा ग्राहक हामीप्रति विश्वस्त छन्,” ह्वावेइकी प्रमुख कार्यकारी केन हुले बताइन्।

उक्त चिनियाँ कम्पनीले अमेरिका, अस्ट्रेलिया र न्युजिल्याण्ड जस्ता सबै प्रमुख अर्थव्यवस्थामा नेटवर्क उपकरण प्रदान गरेको छ।
”फाइभ आई” नामक गुप्तचर सूचना आदानप्रदान गर्ने समूहमध्येको एक ब्रिटेनले पनि बेइजिङलाई ”ह्याकिङको” आरोप लगाएको छ।
ब्रिटेनको ”सिक्रेट इन्टेलिजेन्स् सर्भिस (एमआइ ६)” का प्रमुख एलेक्स योङ्गरले हालै आफ्नो देशको दूरसञ्चार नेटवर्कमा ह्वावेइको सहभागिताबारे ”कुराकानी हुनुपर्ने” बताएका थिए।

पक्राउ, जवाफी पक्राउ र आरोपहरू
विश्वका दुई ठूला अर्थतन्त्रबीच भइरहेको प्रविधि शीतयुद्ध घट्ने कुनै सङ्केत देखिँदैन।
डिसेम्बर २० मा अमेरिका र ब्रिटेनले चीनलाई ठूलो चोरी गर्ने अभिप्रायसहित ”साइबर क्याम्पेन” गरेको आरोप लगाएको थियो।
हालै मात्र फेरि अमेरिकाले दुई चिनियाँ नागरिकमाथि युरोप, एशिया र अमेरिकामा ”ह्याकिङ क्याम्पेन” सञ्चालन गरेको आरोप लगाएको थियो। उक्त आरोपको चिनियाँ विदेश मन्त्रालयले भने पूर्ण रूपमा अस्वीकार गरेको छ।

चिनियाँ भविष्यको आस:ह्वावेइ
ह्वावेइका प्रमुख अधिकृत केन हुका अनुसार कम्पनीमाथि प्रतिबन्ध लगाउने मुलुकहरूले आफै नोक्सानी बेहोर्नुपर्ने बताउँछन्।
आधिकारिक प्रतिक्रियाभन्दा पर गएर हेर्दा आम चिनियाँमा समेत प्रभाव परेको देखिन्छ।

प्राविधिक टिप्पणीकारहरूले अनलाइनमार्फत् आफ्ना निराशा पोखेका छन् भने उपभोक्ताहरूले एप्पलका सामानको प्रयोग घटाएका छन् र उक्त अमेरिकी कम्पनीका सामान पूर्ण रूपमा बहिष्कारको माग गरेका छन्।


तर आम चिनीयाँहरूलाई ह्वावेइका अधिकारीको गिरफ्तारलाई किन व्यक्तिगत रूपमा लेलान्? यसको उत्तर चिनियाँ सञ्चारमाध्यम र ”अनलाइन टेक फोरम’ हेर्दा फेला पर्छ, ह्वावेइलाई चिनियाँको भविष्यको आशाका रूपमा हेरिएको छ।
”चीन पनि बलियो र शक्तिशाली हुन सक्छ भन्ने ह्वावेइले देखाउँछ,” नाम उल्लेख नगरिएका एक चिनियाँ टिप्पणीकारले बताए।
प्रविधि टिप्पणीकार वाक सियादोङका अनुसार अमेरिकालाई उसकै खेलमा पछारेका कारण चीनलाई रोकेर राख्न खोजिएको छ।

जेडटीईको भूत
चीनकै अर्को प्रविधि कम्पनी जेडटीईमाथि २०१८ मा भएको कारबाहीका कारण पनि ह्वावेइलाई आफ्नो भविष्यबारे चिन्तित हुनुपर्ने देखिन्छ।
अमेरिकाको वाणिज्य विभागले उक्त कम्पनीलाई उत्तर कोरिया र इरानमाथि लगाइएको प्रतिबन्धको पालना नगरेको भन्दै कारबाही गरेको थियो जसका कारण जेडटीईको शेयर १ अर्ब अमेरिकी डलरले घटेको थियो।

हाल कुनै पनि अमेरिकी कम्पनीलाई जेडटीईसँग कारोबार गर्न प्रतिबन्ध लगाइएको छ।
उक्त कम्पनी अमेरिकामा डिजाइन गरिएको ”चीप” मा निर्भर थियो।

ब्रिटेनको ”न्यासनल साइबर सेक्युरिटी सेन्टर”ले पनि उक्त कम्पनीको नेटवर्क प्रयोग गरिरहँदा राष्ट्रिय सुरक्षा चुनौतीहरू कम गर्न नसकिने बताएको थियो।

विश्वका दुई ठुला शक्तिबीच उत्पन्न भएको समस्याले किन पनि महत्त्व राख्छ भने ह्वावेइमाथि लगाइएका आरोपमध्ये कुनै एक मात्र पनि सत्य सिद्ध भए यसले प्रविधिको क्षेत्रमा विश्वकै महत्त्वपूर्ण खेलाडी बन्ने चिनियाँ महत्त्वाकांक्षीमाथि पूर्णविराम लगाइदिन सक्छ।

-बीबीसी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung