
बागलुङ । नेपाल तेक्वान्दो संघ बागलुङले निर्माणाधिन कवर्डहलको हाल सम्मको आयव्यय सार्वजनिक गरेको छ ।२०६१ सालमा बहुउद्धेश्यीय कबर्डहल निर्माण गर्ने भन्दै काम थालिएपनि अलपत्र रहेको यो भवनलाई संघले आफ्नो स्वामित्वमा निर्माणको जिम्मा लिएको थियो । सात बर्षअघि जिम्मामा लिएको संघले अहिलेसम्म ४२ लाख रुपैयाँ खर्च गरेको जनाएको छ । बिभिन्न दाता र सहयोगी संस्था खोजेर ४६ लाख रुपैयाँ संकलन गरेकोमा केही रकम बचत रहेको जनाएको हो ।
संघका अध्यक्ष दिपेन्द्र बास्कोटाले खर्च विवरण सार्वजनिक गरेका थिए । तत्कालिन जिविस, नगरपालिका र मन्त्रालयको समेत बजेट परिचालन गरेर अहिलेको अवस्था सम्मको कवर्डहलको निर्माण भएको उनले बताए ।
पर्खाल लगाउने, प्यारापिट बनाउने, दर्शक दिर्घा सहित खेल्ने स्थानको व्यवस्थापन, शौचालय, कपडा फेर्नका लागि ड्रेसिङ कक्ष लगायतको निर्माण गर्नुपर्नेछ । बाहिरी संरचनाका लागि ८७ लाख अनुमान गरिएकोमा लामो समय भएकोले झण्डै एक करोड खर्च हुने बास्कोटाले भने ।
जापानमा बस्दै आएका सिद्धार्थ श्रेष्ठले संकलन गरेको १० लाखभन्दा बढी रकम समेत संघलाई प्राप्त भैसकेको बास्कोटाले बताए । जिल्लामा छरिएर रहेका तेक्वान्दोका खेलाडीलाई एकीकृत गरेर सामुहिक खेल्ने अवसर दिने, प्रशिक्षण केन्द्रको रुपमा बिकास गर्ने र सबै प्रकारका मार्सल आर्टको प्रतिष्पर्धा गराउन सकिने राष्ट्रिय तहको हल निर्माणमा लागिएको संघका अध्यक्ष बास्कोटाको भनाई छ ।