१८ बैशाख २०८१, मंगलवार

 

गुहेली सञ्चार सहकारीको सहकारी सचेतना

सुवास गौतम
राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक रामबहादुर जिसीले सहकारी मार्फत समाज रुपान्तरणका लागि ऐन कानुनसंगै पूर्वाधार र प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।
काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखरास्थित गुहेली सञ्चार सहकारी संथा लिमिटेडले शुक्रवार आयोजना गरेको सम्पत्ती शुद्धिकरण सम्बन्धी सहकारी शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।
 सहकारीलाई प्रभावकारी बनाउन विभिन्न खालका प्रविधिहरुको प्रयोग हुन थालेको भन्दै उहाँले प्रविधिमा आएको परिवर्तनलाई उपयोग गरी सदस्यहरुको जीवनस्तरमा परिवर्तन ल्याउने खालका कार्यक्रम बनाएर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो ।
  विकासका पूर्वाधार र प्रविधिका क्षेत्रमा नेपालमा धेरै प्रगति भए पनि त्यसबाट जनताले कमाउने भन्दा गुमाउने अवस्था बढी सिर्जना भएको भन्दै उहाँले पूर्वाधर र प्रविधिलाई उपयोग गर्न आग्रह गर्नु भयो ।
सहकारीका सदस्यले उत्पादन बढाउने, सहकारी संस्थाहरुले संकलन गर्ने र संघ तथा सरकार मिलेर बजारीकरण, प्रशोधन लगायतको व्यवस्थापन गर्न सकेमा मात्रै देशको समृद्धि संभव भएको जिसीको भनाइ थियो ।
 कार्यक्रममा संस्थाका सल्लाहकार चन्द्रमणी उपाध्याय, जिल्ला सहकारी संघ बागलुङका ऋण उपसमितिका सदस्य प्रेम केसी लगायतले भीमापोखरामा रहेका १० वटा सहकारीहरुलाई एकीकरण गरेर व्यवस्थित र प्रभावकारी सहकारी निर्माणका लागि सबैलाई आव्हान गर्नु भयो ।
 सो अवसरमा गुहेली सञ्चार सहकारी संस्थाका शेयर सदस्यहरुलाई सदस्य पहिचान परिचय पत्र वितरण गरिएको थियो । राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक जिसीले संस्थाका शेयर सदस्य तथा सल्लाहकार चन्द्रमणी उपाध्यायलाई परिचय पत्र प्रदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।
  कार्यक्रममा सहकारीमा सम्पत्ती शुद्धिकरण सम्बन्धी व्यवस्था, सहकारी एकीकरणको आवश्यकता, समस्या र चुनौती, सहकारीमार्फत सञ्चालन गर्न सकिने व्यवसाय र सदस्यहरुको भूमिका लगायतका विषयमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका सञ्चालक जिसीले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सञ्चालक तथा शेयर सदस्यहरु गरी ५० जनाको सहभागित रहेको थियो ।
 गुहेली सञ्चार सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षता, संस्थाका कोषाध्यक्ष प्रसाद थापाको स्वागत तथा सचिव सुर्य बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारी मार्फत सूचना र सञ्चारसंगै वचत तथा ऋण लगायतका काम गर्दै आएको संस्थामा २ सय ५० जना शेयर सदस्य, २० लाख शेयर रकम, ३५ लाख बचत र ५५ लाख कर्जा लगानी रहेको अध्यक्ष खीमबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्