१७ बैशाख २०८१, सोमबार

 

भारतीय पाइलटलाई फिर्ता गर्ने निर्णयले के पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कद बढेको छ ?

भारत प्रशासित कश्मिरको पुलवामामा भएको चरमपन्थी हमलापछि भारत र पाकिस्तानको वायुसेनाले सीमा पार गरेर एक–अर्काको इलाकामा प्रवेश गर्दै आफ्नो ताकत प्रदर्शन गरेका छन् ।

यो क्रममा पाकिस्तानले भारतका एक मिग विमान पाकिस्तान प्रशासित कश्मिरमा खसाल्यो र भारतका एक पाइलटलाई नियन्त्रणमा लियो । पछि इमरान खानले भारतीय पाइलटलाई रिहा गर्ने घोषणा गरे । उनलाई शुक्रबार भारत फिर्ता पठाइनेछ ।

पुलवामाको घटना १४ फेब्रुअरीमा भएको थियो जबकी दुई देशका सेनाबीच भएको यो घटना २६ र २८ फेब्रुअरी बीचको हो ।

यतिबेला जहाँ एकातर्फ भारतको राजनीतिक नेतृत्वको तर्फबाट कुनै आधिकारिक बयान आएको छैन भने अर्कातिर पाकिस्तानका प्रधानमन्त्रीले यसबारे लगातार जानकारी दिइरहेका छन् । उनी जतिपटक क्यामरामा देखिए उनले युद्ध नगर्ने कुरा दोहोराइरहेका छन् ।

पहिलो पटक उनले भारत–पाकिस्तानबीच पहिले भएका युद्ध र त्यसले निम्त्याएको विनाशको उदाहरण दिए भने बिहिबार उनले संसदमा क्यूबा मिसाइल संकटको उदाहरण  दिए (सोभियत संघले अमेरिकाविरुद्ध क्यूबामा आफ्नो मिसाइल तैनाथ गरेको थियो ) ।

त्यतिबेला संसारभरी संकटको बादल छाइरहेको थियो किनभने एकातर्फ अमेरिका र रुसमा खिँचातानी थियो भने अर्कोतर्फ भारत–चीनबीच पनि युद्ध चलिरहेको थियो । इमरानले युद्ध कुनै पनि कुराको हल होइन भनेर पटक–पटक बताइरहेका छन् ।

पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय पाइलट अभिनन्दनलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो कदम हो । अभिनन्दनले कुनै अपराध त गरेका छैनन्, उनी त मात्र एक युद्धबन्दी हुन् । उनी आफ्नो मुलुकका लागि काम गरिरहेका थिए त्यसकारण उनलाई छोड्ने इमरान खानको एउटा निकै राम्रो राजनीतिक निर्णय हो ।

इमरानको यो निर्णयले पाकिस्तान र हिन्दुस्तानबीचको अहिलेको स्थितीलाई सुधार्नेछ । यो निर्णयले इमरान खानको कद पक्कै पनि बढेको छ ।

इमरानको व्यक्तित्वः

इमरान खान मिडिया सामू आउन कहिले पनि हिच्किचाउँदैनन् । जबदेखि इमरान पाकिस्तानको राजनीतिमा प्रवेश भए उनी क्यामरामा छाइरहेका छन् । उनी एक अन्तर्राष्ट्रिय सेलिब्रिटी हुन्, चर्चित क्रिकेटर पनि ।

जहाँ क्रिकेट खेलिन्छ त्यहाँ उनी निकै चर्चित छन् । उनको इज्जत छ जसको उनी फाइदा उठाउँछन् । उनको वाक्कला पनि निकै राम्रो छ । उनले जे जति कुरा गर्छन्, त्यसले पनि उनलाई फाइदा पुर्याउँछ ।

उनी एक जननेता हुन् जसको उनी फाइदा उठाउँछन् र यस्ता नेता चर्चामा छाइरहन्छन् । त्यसको प्रयोग गर्नु हरेक राजनेताको अधिकार हो ।

यतिबेला पाकिस्तान र अफगानिस्तानबीच जुन स्थिती छ त्यसले पाकिस्तानलाई निकै असर पुर्याइरहेको छ र इमरान खान सरकार यतिबेला शान्ति चाहन्छ । उनी कुराकानीमार्फत यो मुद्दा सुल्झाउन चाहन्छन् । उनी गलत प्रचार गरिरहेका छैनन्, उनी सच्चा मनले कुरा गरिरहेका छन् ।

पुलवामाको घटनापछि उनले सबैभन्दा पहिले चरमपन्थबारे कुरा हुनुपर्छ भन्ने हिन्दुस्तानले तेर्र्साएको शर्त पनि माने ।

पाकिस्तान पहिलेदेखि नै आफ्नो पश्चिमी सीमामा चरमपन्थविरुद्ध युद्ध लडिरहेको छ । पाकिस्तानको सेनाले कतै न कतै युद्ध हुन नहुने र कुराकानीमार्फत मुद्दा सल्टाउनुपर्ने चाहना राख्छ ।

सकारात्मक छ इमरानको सोचः

इमरान जुन दिशामा पाकिस्तानलाई लैजान चाहन्छन्, त्यो एकदम सही छ । अफगानिस्तानसँग लडाईं समाप्त गर्ने दिशामा उनले तीब्र कारवाही गरे । उनी अफगानिस्तानमा स्थिती सामान्य होस् र युद्ध समाप्त होस् भन्ने चाहन्छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प पनि यो ‘कहिल्यै समाप्त नहुने लडाई)’ समाप्त होस् भन्ने चाहन्छन् ।

करतापुर करिडोरलाई उनले सिखका लागि खोल्ने पहल गरे । उनी सिख भिसा बिना नै पाकिस्तान आउन् र दर्शन गरुन् भन्ने चाहन्छन् । यो एउटा राम्रो कोसिस हो ।

यस्ता कुराहरु इमरानले प्रधानमन्त्री बनेपछि देशमा लागू गरेका हुन् र उनले प्रधानमन्त्रीको पद सम्हालेको मात्र पाँच महिना पुगेको छ ।

यस्तोमा पाकिस्तानको जुन आर्थिक स्थिती छ, त्यसलाई नियन्त्रण गरेर अबको दुई–तीन वर्षमा पाकिस्तानको ‘ग्रोथ रेट’ राम्रो भयो भने उनले कुनै काम गरेको भन्न सकिन्छ । अहिलेका लागि हामी यो भन्न सक्छौं कि उनले सकारात्मक कदम चालेका छन्

  • एजेन्सी
    साद मोहम्मद, राजनीतिक विश्लेषक पाकिस्तानबाट

 

प्रतिक्रिया दिनुहोस्