भरत सापकोटा
बागलुङ । काठेखोला गाउँपालिकाका वडा नं ५ र ६ बिहुँका विभिन्न स्थान पसल फोडी चोरी गर्दै हिँड्ने दुईजना अभियुक्तलाई प्रहरी चौकी धम्जा बिहुँले पक्राउ गरेको छ ।
चौकीका ईन्चार्ज प्रसनि गजेन्द्रबहादुर थापाका अनुसार उनीहरुको साथमा रहेको झोलाबाट नगद ५९ हजार ५ सय १ रुपयाँ समेतबरामद भएको छ ।
प्रहरीका अनुसार आज पक्राउ गरिएका अभियुक्तहरु काठेखोला गाउपालिका ६ सौरनीका वर्ष १५ को बुद्धि सुनार र काठेखोला गाउपालिका वडा नं ५ देउरालीका वर्ष २७ को मीठु भनिने हर्कबहादुर सुनार रहेका छन् ।
निजहरुले केहि समय देखी विभिन्न पसलहरु फोडी चोरी गर्ने गरेको स्वीकार गरेको प्रसनि थापाले बताए । शुक्रबार पक्राउ गरिएका अभियुक्तमध्य १५ वर्षिय बुद्धि सुनार भिमसेन मावि बिहुँबाट यहि चैत १० गतेदेखी सुरु हने माध्यमिक शिक्षा परीक्षा एसईईमा सम्मिलित हुने परीक्षार्थी हुन् ।
प्रहरीले दिएको जानकारी अनुसार गत चैत ३ गते काठेखोला गायपालिका वडा नं ६ बिहुँ हटिया छविलाल कँडेलको पसल फोडी नगद ५२ हजार र रिचार्ज कार्ड ५ हजारको चोरी गरेको स्वीकार गरेका छन् ।
त्यस अघी काठेखोला गाउपालिका ६ इनारपानीबाट खिमानन्द कँडेलको जाहेरी अनुसार नगद जिन्सी समेत रु ५१ हजार चोरिएको जाहेरी परेको तर निजहरु जम्मा १५ हजार चोरेको स्वीकार गरेको प्रहरीले जनााएको छ । यस्तै निजहरुले सोही वडाका हरिलाल कँडेलको घरमा समेत चोरी गरेको बताएका छन् । पक्राउ गरिएका निज अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङमा पठाईएको प्रसनि थापाले बताए ।



















































































































































































































