कञ्चनपुर । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको छ ।
दुई दशकदेखि भोगचलन गर्दै आएको जग्गामा मुक्तहलिया परिवारले घर निर्माण गर्न खोज्दा एसएसबीका जवानले निमार्णकार्य रोक्न लगाएको राष्ट्रिय मुक्तहलिया समाजका जिल्ला अध्यक्ष शिवी लुहारले बताए ।
“वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा भारतमा पर्ने जनाउँदै भारतीय एसएसबीका जवानले घर मर्मतका लागि पुनःस्थापनमा परेका ‘ख’ वर्गको परिचयपत्र पाएका खडक सार्की, बाली सार्की, मदन सार्की र परदेशी दमाइलाई घर निर्माण गर्नबाट रोकेको छ”, उनले भने ।
घर मर्मतका लागि भूमि सुधार कार्यालयले मुक्तहलिया परिवारलाई रु एक लाख २५ हजारका दरले रकम उपलब्ध गराएको थियो । “निर्माणकार्य गरे घर नै भत्काइदिने भारतीय एसएसबीका जवानले धम्की दिने गरेको छ”, खड्क सार्कीले भने, “पुरानो बस्दै आएको घर भत्काएर मर्मतका लागि पाएको रकम थपेर घर निर्माण थालेका थियौँ, त्यो पनि बनाउन नपाइने भएपछि खुला आकाशमा परिवारसहित बस्नुपरेको छ ।”
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले आगामी मार्च २७ गते नेपाल–भारतका अधिकारीबीच सीमावर्ती भारतीय बजार वनवसामा बैठक बस्ने सहमति भएको बताए । उनले सो बैठकमा सीमा क्षेत्रमा देखिएका समस्याबारे छलफल गरी टुङ्गो लगाइने बताए ।
यसैगरी भारतीय एसएसबीले भीमदत्त नगरपालिका–९ को टनकपुर बाँध नजिकै नगरपालिकाले ठेक्का प्रक्रियाद्वारा सडक कालोपत्र गर्ने कार्य समेत शुक्रबार रोक्न लगाएको थियो । एसएसबीको अवरोधपछि केही दिनका लागि सडक निर्माणकार्य रोकिएको छ । दुई देशका प्रशासन प्रमुखबीच यही चैत १३ गते सीमा बैठकमा छलफल गर्ने मौखिक सहमतिपछि निर्माण रोकिएको छ ।



















































































































































































































