बागलुङ । गलकोटमा चैतेदशैंको तीब्र तयारी गरिएको छ । प्रत्येक वर्ष ३ देखि ५ हजारसम्म दर्शन तथा भत्तजन उपस्थित हुने गलकोटको कोटमैदानमा चैतेदशैंको तयारी तिब्र पारिएको हो । संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुले ठूलो महत्व राख्छन् । हाम्रा संस्कार र परम्पराहरुलाई यीनै चाड पर्वहरुले सुरक्षित राख्दछन् ।
शरद ऋतुमा मनाइने बडा दशैंमा जस्तो बाहिरी उल्लास र चहल पहल चैते दशैंमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेर खानपिन गर्ने र भगवान राम जन्मेको तिथि रामनवमी विशेष उल्लासकासाथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाउने गरिन्छ । गलकोट क्षेत्रमा यसको महत्व कायमै छ ।
गलकोटको कोटमैदानमा वर्षौ पहिलेदेखिनै चैतेदशैं पर्वले गलकोटसँगै आसपासका मानिसहको मन लोभ्याउने गरेको छ । कोटमैदान पुजा ब्यवस्थापन समितिले पुजाआजाको ब्यवस्थापन गरेको छ भने गलकोट संस्कृति तथा समाज विकास मञ्चले खेलकुद तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
चैते दर्शैको दिन गलकोट नगरपालिका वडा नम्बर ३ हटिया कोटमैदानमा बसोबास गर्ने स्थानीय गन्दर्भ जातिले सराय नाँच देखाउने गरेका छन । यस वर्षसमेत सराय नाँच प्रदर्शन गरिने मञ्चका सदस्य रबिन बोहोरा क्षेत्रीले बताए । असत्यमाथि सत्य र विजयको खुसियालीस्वरुप बडो हर्षोल्लासका साथ नाचिने सराय नाचले चतैदसैंको महत्वलाई थप बलियो बनाएको बोहोराको भनाई छ ।
गलकोटको ऐतिहासिक ठाउ भएका कारण पुजाआजाकै लागि समेत हजारौं मानिसहरु उक्त स्थानमा पुग्ने गरेका स्थानीयको भनाई छ । कोटमैदानमा माई र खडक कालिकाको मन्दिर रहेका छन । माईको मन्दिरमा वर्ष भरि पुजाआजा हुने भएपनि खडक कालिकाको मन्दिरमा भने वडा दर्शै र चतै दशैंको अवसरमा मात्रै पुजाआजा हुने पुजा ब्यवस्थापन समितिका सन्त बहादुर खत्रीले बताए । दुवै मन्दिरमा मनले चिताएको पुग्ने जनविश्वास साथ बिभिन्न पशु पंक्षिको बलि दिने प्रचलन रहेको छ ।



















































































































































































































