१४ कार्तिक २०८३, शुक्रबार

 

बाढीसँगै बगे सफल उद्यमी बन्ने श्रीसको सपना

 

बागलुङ । गत वैशाख १ गते आएको बाढीले गलकोट नगरपालिका–१ दुदिलाभाटीका कर्णबहादुर श्रीसको सफल उद्यमी बन्ने सपना बाढी संगै बगेको छ । स्वदेशमानै केही आय–आर्जनको काम गर्ने सोचका ४ वर्ष अघि मलेसियाबाट फर्केर सौगात कृषि तथा बंगुर फर्म खोलेका युवा उद्यमी श्रीसको बंगुरको खोरसंगै १६ बंगुर बाढीले बगाएपछि श्रीस सफल उद्यमी बन्ने सपनाम पुरा नहोलाकी भन्ने चिन्तामा छन् ।

६ वर्षको मलेसिया वसाई पछि गाउँमै उद्यम गर्ने सोच पलाएर स्वदेश आएका श्रीसको खोरमा रहेका ३० बंगुर मध्ये अविरल वर्षपछी आएको बाढीले खोला छेउमै रहेको बंगुरको खोरसँगै १६ वंगुर बगाएको छ । ‘बाढीका कारण खोरसहित बंगुर बगाउदा ४ लाख बराबरको क्षति पु¥याएको छ,’श्रीसले भने, ‘सफल बंगुरपालक किसान बन्ने सपना पुरा नहोलाकी भन्ने लाग्न थालेको छ ।’ १५ लाखको लागतमा बंगुर फर्म खोल्नु भएका श्रीसले बंगुरको मासु भन्दा पाठा बेचेर राम्रो आम्दानी गर्दै आएका थिए ।

‘मासुका लागि उत्पादित बंगुर बेचेर खासै नाफा भएन, पछि उन्नत जातका बंगुरका पाठा बेच्न थालेपछी राम्रै भएको थियो एकाएक दैव लाग्यो’ श्रीसले भने । श्रीसले पाठा उत्पादन गरि जिल्ला तथा जिल्ला वाहिर निर्यात गरेर सफल उद्यमी बन्ने सपना रहेको बताउदै सपनाहरु बाढीमा बगेका बंगुरसंगै गएको सुनाए । श्रीसले एक महिनाको पाठालाई चार हजार र मासुका लागि ठूलो बंगुरलाई ४५ हजार सम्ममा बिक्रि गर्दै आएका छन् ।

श्रीसले हाल फर्ममा रहेका १४ बंगुरलाई समेत राख्ने ठाउँ नभएका कारण समस्यामा परेको बताए । उनले राहतका लागि गलकोट नगरपालिकाले २० हजार सहयोग गरेको भन्दै प्रदेश सांसद तथा संघीय सांसदले उचित राहतको व्यवस्थाका लागि पहल गर्ने आश्वासन दिएको बताए । एक गते आएको बाढीले दुदिलाभाटीमा सडक, खानेपानी, विद्युत, गहुवालीमा ठूलो क्षति गरेको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले बताए । युवा उद्यमी श्रीसले बंगुर फर्म संगै व्यवसायीक रुपमा टमाटर, लसुन, प्याजको खेतीसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung