बागलुङ। जिल्लामा चार वर्षअघिको भूकम्पले क्षति पुर्याएका घर प्रबलीकरण (रेक्ट्रोफिट) गर्न लाभग्राहीले चासो देखाएका छैनन् । सामान्य क्षति पुगेका घरलाई जिल्ला आयोजना कार्यान्वयन एकाइले प्रबलीकरणको तयारी गरेको थियो । यसका लागि आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले गरेको सर्वेक्षणमा ८२ लाभग्राही छनोट भएका थिए ।
आयोजनाका अनुसार लाभग्राहीमध्ये ५१ जनाले मात्र सम्झौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ लगेका छन् । ३१ जना सम्झौता गर्नै आएका छैनन्। सरकारले पूर्ण क्षति भएका र प्रबलीकरण गर्न मिल्ने भनी दुई प्रकारले लाभग्राही सर्वेक्षण गरेको थियो । पूर्ण लाभग्राहीले घर निर्माणमा चासो देखाए पनि प्रबलीकरणतर्फकाले बेवास्ता गरेको अयोजना प्रमुख इन्जिनियर रामाशिष शाहले बताए ।
उनका अनुसार भूकम्पपछिको पुनर्निर्माण झन्डै ५० प्रतिशत सकिएको छ । तर प्रबलीकरण गर्नुपर्ने एउटै घर सम्पन्न हुन सकेको छैन । ‘३१ लाभग्राही प्रबलीकरणको सम्झौता गर्नै आएनन्,’ शाहले भने, ‘सम्झौता भएका घरले समेत पहिलो किस्ता लगेर चासो नदेखाउँदा काम गर्न समस्या भएको छ ।’ सरकारले पूर्ण रूपमा घर क्षति पुगेकालाई पूर्ण लाभग्राही तथा सामान्य क्षति पुगेकालाई प्रबलीकरणमा समावेश गरेर दुईखाले अनुदान कार्यक्रम ल्याएको छ । पूर्ण लाभग्राहीले तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ पाउनेछन् ।
सामान्य क्षति पुगेका घर प्रबलीकरण गरेर भूकम्पप्रतिरोधी बनाउन सकिने प्राविधिक बताउँछन् । प्रबलीकरण गर्न प्राविधिकलाई विशेष तालिम दिएर पठाउने तयारी गरिरहे पनि लाभग्राहीले नचाहेको आयोजना कार्यान्वयन एकाइले जनाएको छ । आयोजनाका अनुसार पहिलो किस्ता लगेर प्रबलीकरणमा चासो नदिँदा काम गर्न निकै समस्या छ । प्रबलीकरणप्रति लाभग्राहीको विश्वास नभएका कारण चासो नदेखाएको हुन सक्ने आयोजनाप्रमुख शाहको ठम्याइ छ ।
जिल्लामा निजी आवास पुनर्निर्माणका लागि २ हजार ३ सय ७५ जनाले निवेदन दिएकोमा २ हजार १ सय १३ जनाले योजना सम्झौता गरी प्रथम किस्ता लगेका छन् । १ हजार ३९ जनाले दोस्रो र ६ सय १५ जनाले अन्तिम किस्ता लगेको आयोजना कार्यान्वयन एकाइका नायब सुब्बा चुर्ण कार्कीले जानकारी दिए । उनका अनुसार २ सय ६२ जना निजी आवास पुनर्निर्माणको सम्झौता गर्नै आएका छैनन् । एक जनाले सम्झौतापछि लगेको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् ।
यस्तै छुट तथा पुनः सर्वेक्षणका लागि हालसम्म ७ सय ६ लाभग्राहीले निवेदन दिएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ। एकाइका अनुसार जिल्लामा ४० विद्यालय, एक गुम्बा, तीन एकीकृत बस्ती तथा बुर्तिवाङ–खुङ्गा हँुदै बोङगादोभानको ९.८ किलोमिटर सडक निर्माणाधीन छन् ।



















































































































































































































