३ जेष्ठ २०८१, बिहीबार

 

इङ्लिस क्लबले रचे इतिहास

- युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलमा चारै टोली इङ्ल्यान्डका

एजेन्सी । युरोपका प्रमुख दुई फुटबल प्रतियोगिताको ट्रफी यसपालि इङ्ल्यान्ड भित्रिने निश्चित भएको छ । क्लब फुटबलका ठूला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल पुग्ने चारै टोली इङ्ल्यान्डका छन् ।

इङ्लिस क्लबहरू लिभरपुल, टोटेनहम, चेल्सी र आर्सनलले पहिलोपटक यस्तो इतिहास रचेका हुन् । लिभरपुल र टोटेनहम च्याम्पियन्स लिग तथा चेल्सी र आर्सनल युरोपा लिगको फाइनल खेल्दै छन् ।

यो संयोगसँगै इङ्ल्यान्ड एकै सिजनमा युरोपका दुई प्रमुख प्रतियोगिताको फाइनल खेल्ने पहिलो राष्ट्र बनेको छ । चेल्सी र आर्सनल बिहीबार रातिको खेलमा जित निकाल्दै युरोपा लिगको फाइनल पुगेका हुन् ।

सेमिफाइनलको दोस्रो लेगको खेलमा चेल्सीले जर्मन क्लब इन्ट्रायच फ्र्यान्कफर्टलाई पेनाल्टी सुटआउटमा पराजित गर्‍यो । त्यस्तै आर्सनल भ्यालेन्सियामाथि ४–२ को तथा समग्रमा ७–३ को जित निकाल्न सफल भएको थियो ।

च्याम्पियन्स लिगको दोस्रो लेगमा लिभरपुलले स्पेनी प्रतिद्वन्द्वी बार्सिलोनामाथि ४–० को अविश्वसनीय जित निकाल्यो । त्यस्तै टोटेनहमले नेदरल्यान्डको आयाक्समाथि ३–२ को जित निकाल्दै फाइनल पक्का गरेको हो ।

पहिलो लेगमा लिभरपुल ३–० तथा टोटेनहम १–० ले पछि थिए । च्याम्पियन्स लिगको फाइनल १ जुनमा स्पेनको मड्रिड तथा युरोपा लिगको फाइनल मे २९ मा बाकु, अजरबैजानमा हुँदै छ ।

यसभन्दा अघि इङ्लिस टोली दुईपटकसम्म एकसाथ यी प्रतियोगिताको फाइनल पुगेको विगत छ ।

सन् १९७१/७२ मा युइएफए कपको फाइनलमा टोटनहमले उल्ब्सलाई हराएको थियो भने सन् २००७/०८ मा युइएफए च्याम्पियन्स लिगको फाइनलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई हराउँदै उपाधि कब्जा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्