काठमाडौं । सगरमाथा आरोहणमा र्कितिमान कायम गरेका साहसिक पर्वतारोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर नयाँ रेकर्ड कायम गरेका छन् । शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँ पटक पाइला टेक्न सफल भएका छन् ।
आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले दिएको जानकारी अनुसार लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् ।
आरोही टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको जानकारी गराए । सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि विश्राम लिने बताएका छन् ।
बौद्ध धर्मअनुसार एक महीनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भएपनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।



















































































































































































































