बागलुङ । जिल्ला सदरमुकाम स्थित ज्ञानोदय बुद्ध बिहारले २६ सय ४३ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने भएकाे छ । बिहारले मंगलबार देखि शनिबार ५ दिवसीय कार्यक्रमको आयोजना गरेर मनाउने भएकाे हो।
उक्त कार्यक्रम अन्तर्गत पहिलो दिन मंगलबार दौड र बुद्धिचाल प्रतियोगिता , दोस्रो दिन फलफुल वितरण कार्यक्रम र बौद्ध वक्तृत्त्वकला प्रतियोगिता, तेस्रो दिन कथा वाचन प्रतियोगिता , चौथो दिन अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ।
उक्त कार्यक्रमहरु मध्ये दोस्रो दिनको कार्यक्रम अन्तर्गत अन्तर विद्यालय स्तरीय बौद्ध वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ।
“आजको युगमा बौद्ध उपदेशको आवश्यकता ” शीर्षक रहेको प्रतियोगितामा कुल १४ विद्यालयका विद्यार्थी सहभागीता रहेको थियो। उक्त प्रतियोगितामा प्रथम युएस एकेडेमीकी समिक्षा भुसाल, द्वितीय रुद्रेपिपल माविकी अपेक्षा पौडेल र विद्यामन्दिर माविकी जिज्ञासा गौतम तृतीय भएका छन्।

ज्ञानोदय बुद्ध बिहारका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी ज्ञानोदय बुद्ध बिहारका संरक्षक तथा पुर्व अध्यक्ष इश्वरलाल बज्राचार्य , शाक्य कल्याण समाजका अध्यक्ष गगन लाल शाक्य, महिला बौद्धकी उपाध्यक्ष रम्भा देवी शाक्य, युवा बौद्ध संघका अध्यक्ष जोहन बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको संचालन क्युरिना शाक्य र स्वागत मन्तव्य जोहन बज्राचार्यले गरेका थिए। त्यस्तै कार्यक्रमको संयोजन पुर्णिामा बज्राचार्यले गरेकी थिइन भने प्रतियोगिताको निर्णायकमा राम थापा ‘अविरल’ र विनय शाक्य रहेका थिए।




















































































































































































































