काठमाडौं । संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकसहितका कानूनहरुमा रहेका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ आन्दोलन गर्ने भएको छ । पहिलो चरणको आन्दोलन स्वरुप महासंघ शुक्रबार काठमाडौंमा संसद बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत प्रदर्शनमा उत्रिने भएको छ ।
महासंघका महासचिव रमेश विष्टले पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सम्बन्धित पक्षले महासंघले उठाएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कानुन संशोधन वा फिर्ता गरी भविष्यमा सरोकारवाला पक्षसँग छलफल र सहमति गरेरमात्र मिडियासम्बन्धी कानुनहरु ल्याउने मागको सुनुवाई नगरेकाले महासंघ थप आन्दोलित हुनुपर्ने परिस्थिति निर्माण भएको जनाएका छन् ।
उनले महासंघका तर्फबाट विज्ञप्ती जारी गर्दै पहिलो चरणको आन्दोलनको अन्तिम दिन शुक्रबार दिउसो १२ बजे नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडि हुने प्रदर्शनमा सहभागी हुन आग्रह समेत गरेका छन् । विज्ञप्तीमा भनिएको छ, आ–आफ्ना सञ्चार साधनहरुसहित आम सञ्चारकर्मी, पत्रकार तथा स्वतन्त्रताप्रेमी सबै उपस्थित हुनलाई हार्दिक आह्वान गरिन्छ ।



















































































































































































































