काठमाडाैं । देशभर फेरि बम आतंक शुरु भएको छ । सप्तरी र रुपन्देहीमा बम विस्फोट भएको हो । सप्तरीको बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको घर नजिकको प्रतिक्षालयमा गए राति भएको प्रेसर कुकर बम विष्फोट भएको हो । बिस्फोटबाट टेबुल, कुर्सी र फर्निचर जलेर नष्ट भएको छ । विस्फोटमा परी उनका काका श्याम गोइत घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बम विष्फोटनबारे अनुसन्धान भइरहेको र बम विष्फोट गराउने समूह भारतीय सिमानाबाट भाग्न सक्ने भएकाले सो सिमानामा समेत प्रहरी परिचालन गरी खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
उता, रुपन्देहीको कन्चन गाउँपालिका–२ कन्चन खोला नजिकै पनि बम बिस्फोट भएको छ । बिस्फोटबाट ठूलो आवाज आए पनि कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । त्यसैगरी रुपन्देहीकै ओमसतिया गाउँपालिका १ कटैयामा राखिएको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको प्रहरीले जनाएको छ ।



















































































































































































































