काठमाडौं । हिमालपारिको जिल्ला मुस्ताङ प्राकृतिक सुन्दरताले जति भरिपूर्ण छ, संस्कृति, संस्कार र प्रथाजनित परम्परामा पनि त्यति नै धनी छ । मुस्ताङमा अझै मुखियाकै भरमा समाजव्यवस्था सञ्चालित छ ।
आदिवासी जनजाति थकाली समुदायको आदि पितृभूमि थाक सातसय मुस्ताङमा स्थानीयले मुखिया प्रणालीलाई पहिचानकै रूपमा हुर्काएर अगाडि बढाएका छन् । त्यहाँको सम्पूर्ण प्रशासन, स्थानीय स्वशासनलाई यही तेह्र मुखिया प्रणालीले दरिलो र गर्बिलो बनाएको छ ।
‘मुखिया प्रणाली थाक सातसयको मौलिक सभ्यता र परम्परा हो,’ मार्फा गाउँका मुखिया सुरज लालचनले भने, ‘हामी यस गाउँका चार जना मुखिया चुनिएका छौं । मेरो कार्यकाल आगामी साउनमा सकिन्छ । जिम्मेवारीअनुसार तीन महिनाजति मैले पूर्ण काम गर्नुपर्छ ।’
त्यसो त मुस्ताङको मुखिया प्रणाली शक्तिशाली सामाजिक राज्य व्यवस्था हो । त्यहाँ कसैले पनि मुखियाको आदेश अवज्ञा गर्न सक्दैन ।
थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन भन्छन्, ‘मुस्ताङमा मुखियाहरू भएकै कारण यहाँका वन जंगलको सुरक्षा भएको हो ।’ उनले मुखिया प्रणालीका कारण स्थानीय सरकारहरूलाई पनि समन्वय र सहयोग गर्न सहज भएको दाबी गरे ।
‘मुखियाहरू भएकै कारण स्थानीय सरकारको न्यायिक समितिमा पनि मुद्दाको संख्या शून्य भएको हो,’ थासाङ गाउँपालिकाकी उपाध्यक्ष बालकुमारी शेरचनले भनिन्, ‘यहाँँ कुनै प्रकारको सामाजिक विवाद भए सबैभन्दा पहिले मुखियाकोमा पुग्ने गर्छन् । अहिलेसम्म मुखियाकोमा नमिलेको विवाद कुनै पनि छैन । यसै कारण स्थानीय तहमा मात्र नभएर अड्डा–अदालत र प्रहरीमा पनि मुद्दाको चाप नगण्य छ ।’
थाक सातसयका १३ मुखियाहरू मुस्ताङका स्वजातीय प्रशासक हुन् । यी १३ मुखियाबाट हरेक तीन वर्षमा प्रमुख मुखिया र मिर मुखिया चुन्ने परम्परा छ । उनीहरूले थाक सातसयका पुराना सनद सवाल, रीतिस्थितिका कागजात र विधिविधान निर्माण गर्ने गर्छन् जसलाई प्रथाजनित कानुन मान्न सकिन्छ ।
मुखिया प्रणालीसम्बन्धी अध्ययन गरेका अधिवक्ता शंकर लिम्बूका अनुसार यो आदिवासी जनजातिको पुरानो परम्परा हो । अन्य आदिवासी जनजातिका यस्ता परम्परा लोप भएर गए पनि मुस्ताङमा जीवित र चलायमान हुनुमा त्यहाँका आदिवासी समुदायको सचेतना र चासोले काम गरेको उनको निष्कर्ष छ । ‘थारूहरूको बडघर प्रथा र थकालीको मुखिया प्रणालीले यस परम्पराको बिँडो थामेको छ । अन्य आदिवासीको प्रथा पनि पुनःस्थापना गर्न आवश्यक छ,’ उनले भने ।
मार्फा गाउँका मुखिया इन्द्रलाल हिराचनका शब्दमा मुखिया प्रणालीको निर्णय प्रक्रियामा समाजका सबै नागरिकको समान हैसियत र सहभागिता रहन्छ । ‘यो प्रणाली यतिका वर्ष जीवन्त हुनुमा समुदायको अपनत्व र लोकतान्त्रिक परिपाटी नै हो,’ उनले भने, ‘मुखिया प्रणालीमा कसैलाई पनि अन्याय र विभेद हुँदैन भन्ने ग्यारेन्टी गरिएको हुन्छ । यो प्रणालीमा धनी, गरिब र आफन्त तथा पराईमा कुनै विभेद नहुने भएको हुँदा यो प्रणाली लोकप्रिय छ ।’
नीलगिरि र धवलागिरि हिमालको बीच भएर बग्ने कालीगण्डकी उपत्यकाको यो प्रचलनले आदिवासी समुदायलाई परिश्रमी, लगनशील र मेहनती बनाएको छ । सधैं स्वावलम्बन र स्वरोजगारको पाठलाई पनि मुखिया प्रणालीले प्रेरणा दिएको हुन्छ । मुस्ताङको स्याउ र ओखरको बगैँचा, आन्तरिक र बाह्य पर्यटकका लागि खुलेका होटलहरू मुखियाकै संरक्षणमा फस्टाएका हुन् । राज्यको पुनःसंरचनापछि जिल्लामा गठित पाँचवटा स्थानीय तहलाई अरू दरिलो र सामाजिक एकताप्रति उत्तरदायी बनाउन आदिवासीहरूको प्रथाजनित कानुन तेह्र मुखिया प्रणालीले सहयोग गरिरहेको छ ।
मुखियाले समाजको हित खातिर स्थानीयको सहमतिमा सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, न्यायिक तथा सम्पूर्ण परम्परागत संस्कार आदिको व्यवस्थापन तथा संरक्षण र सञ्चालनमा प्रमुख भूमिका खेल्दै आएका छन् । यस प्रणालीलाई अरू परिमार्जनसहित कानुनी मान्यता दिनु अहिलेको आवश्यकता देखिन्छ ।
(इन्डिजिनियस फिचर सेवा)



















































































































































































































