जनकपुरधाम । शक्तिशाली धामी बन्न बालकको हत्या गरिएको खुलेको छ । धनुषा मिथिला नगरपालिका–६ शम्भु साहका अढाई बर्षीय छोरा आर्यन २४ वैशाखमा हत्या भएको थियो । अघिल्लो दिन साँझदेखि हराइरहेका बालकको शव घाँटी काटिएको अवस्थामा २४ वैशाखको बिहान फेला परेको थियो ।
प्रहरीले तीन साता लगाएर गरेको अनुसन्धानका क्रममा एक जनालाई पक्राउ गरेको छ । ढल्केबरकै शत्रुद्यन महतोलाई उनको घरबाटै बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट एक थान धारिलो हतियार, घटना गर्दाको बखत लगाएको गन्जी, गम्छा र धोतीसमेत बरामद गरेको छ । धनुषा प्रहरी प्रमुख शेखर खनालका अनुसार तन्त्र विद्या सिद्वगरी शक्तिशाली धामी बन्न बालकको बली चढाएको थियो ।
मृतक बालकको आमा रेणु देवी साह घाँस काट्न गएको बेलामा घरमा खेलिरहेका आर्यनलाई महतोले फकाएर लगेका थिए । आफनो घरमा बन्धक बनाएर राखेका उनले २४ वैशाखको बिहान २ बजेतिर शक्तिशाली धामी बन्ने अन्धविश्वासमा परी देवी देउताको नाममा बली दिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
महतोले आफनै घर आँगनमा धारिलो हतियारले क्रुरुतापूर्वक घाँटी रेटी कर्तव्य गरेको प्रहरीले जनाएको छ । प्रहरीले धामीलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको छ ।



















































































































































































































