प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार पोखरामा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानलाई एक कराेड रूपैयाँ सहयाेगसहित शुभारम्भ गरेका छन् । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीकाे तेह्रथुमको चुहानडाँडामा निर्माण हुने विमानस्थल निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी गत फागुन १५ गते निधन भएको थियो ।
अधिकारीको स्मृतिमा सामाजिक क्षेत्रका साथै विकास निर्माण लगायतका कार्य गर्ने उद्देश्यले सो प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठानलाई एक करोड उपलब्ध गराउने घोषणासहित प्रधानमन्त्री ओलीले भने, ‘रवीन्द्रको स्मृतिलाई ताजै राख्न, राष्ट्रलाई समृद्ध, विकसित र जनतालाई सुखी बनाउन याे प्रतिष्ठान स्थापना भएको हो ।’
रवीन्द्रको अधुरो सपनालाई साकार पार्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई जीवन्त राख्न सक्रियतापूर्वक योजनाबद्ध ढङ्गले देश, जनतालाई सर्वोपरि राखेर कार्य गर्न र राजनीतिक विवादबाट पृथक्र राख्न सचेत गराए ।
विसं २०३९ देखि आफूले रवीन्द्रलाई चिनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने–‘कार्यकर्ता, केन्द्रीय नेता र मन्त्रीका रुपमा कार्य गर्दा रवीन्द्रमा कहिले पनि असमझदारी, आक्रोश, रिस नदेखिएको र उहाँ सदैव मुस्कुराइरहने, प्रसन्नचित्त रहेर काममा लीन हुनुहुन्थ्यो ।’
रवीन्द्रलाइ स्वच्छ आचरण, कर्मठ, क्रियाशील, अनुशासित र इमानदार पार्टी कार्यकर्ताका रुपमा उल्लेख गर्दै नेकपा अध्यक्ष अाेेलीले उनलाइ देश र जनताप्रति समर्पित, चिन्तक, विश्लेषक र लेखकका रुपमा समेत स्मरण गरे।
सुशासन र विकासको चरणमा मुलुक प्रवेश गरेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘नकारात्मक सोच्ने, जुनसुकै कुराको विरोध गर्ने, सकारात्मक प्रयासलाई पनि दूषित बनाउने देखिएको तर, सकारात्मक सोचाइ राख्ने रवीन्द्र दृढ, स्पष्ट, गतिशील नेता हुनुहन्थ्याे ।’
प्रधानमन्त्रीले भने –वर्षाैसम्म मन्त्री भएर गर्न नसकेको काम एक वर्षमै गरेका रवीन्द्रलाई हामीले सधैं स्मरण गरिरहनेछाैं ।
वाइडबडी काण्ड रवीन्द्र मन्त्री बन्नुभन्दा पहिलेको घटना भएकाे स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले क्षुद्र मतिका केही मानिस र संस्थाले पाेलेकाे अाराेप लगाए । ‘आफूले निर्दोषलाई निर्दोष भन्न नपाउने तर, क्षुद्रमतिले निर्दोषलाई दोषी भन्न पाउने ’ ? उनले प्रश्न गरे ।
मदन भण्डारीले दिएको बहुदलीय जनवादको विचारले पार्टी अगाडि बढेर सफलता प्राप्त गरेको बताउदै ओलीले ‘मदन भण्डारीले विपरीत अवस्थामा प्रतिकूलतालाई चिर्दै पार्टीलाई सङ्गठित र सक्षम बनाएकै कारण आज दुई तिहाइको हाराहारीमा पार्टी पुगेको हाे’ भने ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रवीन्द्रले देखेका ‘समृद्ध नेपाल र सुखी नेपाली’लगायतका सपना पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
अधिकारीकी धर्मपत्नी एवं प्रतिष्ठानकी तदर्थ समिति अध्यक्ष विद्या भट्टराईले यस्तो दुःखद घडीबाट गुज्रनुपर्ने कुरा कहिले पनि नसोचेको उल्लेख गर्दै उनकाे सपना पूरा गर्न सदैव समर्पित भएर कार्य गर्ने प्रतिबद्धता प्रकट गरिन् ।



















































































































































































































