१४ कार्तिक २०८३, शुक्रबार

 

इद उलफित्रमा प्रम ओलीकाे शुभकामना : सद्भाव एकता प्रगाढ होस्

प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीको चाड इद उलफित्रले विविध धर्म र संस्कृति अंगालेकाे नेपालमा राष्ट्रिय एकताको भावना मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामनासहित शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा उनले पवित्र महिना रमजानको विदाइसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्न र यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘इद मुवारक’ भन्दै शुभकामना दिएका छन् ।

प्रधानमन्त्रीकाे सन्देशमा इस्लामिक क्यालेण्डरअनुसार रमजानको एक महिने भोक र तिर्खा बिर्सेर इन्द्रीयहरुलाई लाेभ, माेह र क्रोध तामसिक गुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्न सिकाएकाे स्मरण गरेका छन् । त्यसलगत्तै वर्षका बाँकी अवधिका लागि असल मानिसको जीवनयापन गर्न अभ्यस्त भएको खुशियालीमा यो पर्व मनाउने गरिएको विश्वास पनि मुस्लिम समुदायमा रहेको उल्लेख गरिएकाे छ ।

नेपालको संविधानको प्रस्तावनामै देशको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा जुनसुकै धर्म र संस्कृति अवलम्बन गर्ने हरेक नेपाली नागरिकको धार्मिक तथा सांस्कृतिक जीवनमा हर्षाेल्लासका साथ सहभागी हुने अधिकार संविधानमा सुनिश्चित भएको स्मरण गराएका छन् ।

“उत्साहको यहि परिवेशमा आर्थिक–सामाजिक रुपान्तरणको ध्येयका साथ सारा देश ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर छ”, सन्देशमा भनिएको छ । संविधानले धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहितको धर्मनिरपेक्षतालाई सुनिश्चित गरिसकेको आजको परिप्रेक्ष्यमा नेपालका मुस्लिम समुदायलगायत सबैको धार्मिक तथा सांस्कृतिक अधिकारको प्रत्याभूति सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung