३ जेष्ठ २०८१, बिहीबार

 

पारसको टिमलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा पारस खड्काको कप्तानीमा रहेको प्रदेश नम्बर ३ लाई ११७ रनले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आर्मीले दिएको ३१० रनको फराकिलो लक्ष्य पछ्याएको प्रदेश ३ ले ५० ओभरमा ९ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो । प्रदेश ३ का लागि इशान पाण्डेले सर्वाधिक ७९ रनको अर्धशतकीय इनिङस खेले । यस्तै ज्ञानेन्द्र मल्लले २६, कप्तान पारस खड्काले १९, नन्दन कुमार याधबले १६ र अदिल खानले १५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

आर्मीका शाहब आलमले ३ विकेट हात पारे । यस्तै कारण केसीले २, रोहित कुमार पौडेल, कुशल मल्ल र सुशन भारीले समान १–१ विकेट लिगे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३०९ रन बनाएको थियो ।आर्मीको लागि कप्तान बिनोद भण्डारी र राजु रिजालले अर्धशतकीय इनिङ्स खेले । बिनोदले अविजित ७५ रन जोड्दा राजुले ५१ रन जोडे ।

यस्तै रोहित कुमार पौडेलले ४३ रन जोड्दा हरि बहादुर चौहानले ३८ तथा राजेश पुलामी मगरले २९ रन बनाए। कुशल मल्ल २६ रनमा अविजित रहदा करण केसीले २१ रन बनाए ।

पारस खड्काको नेतृत्वमा रहेको प्रदेश ३ का लागि नन्दन कुमार यादव र जितेन्द्र सिंह ठकुरीले २र२ विकेट लिए । कप्तान पारस र सोनु देवकोटाले १र१ विकेट लिए । अब आर्मीले फाइनलमा नेपाल पुलिस र एपीएफ क्लबबीचको विजेतासंग खेल्नेछ । प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्