१७ बैशाख २०८१, सोमबार

 

मेयरकप भलिबलमा पाण्डवखानी र रत्नलक्ष्मी विजयी

गलकोट नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप रनिङ सिल्ड प्रतियोगितातर्फ छात्र भलिबलको उपाधि वडा नं १० स्थित पाण्डवखानी माविले उचालेको छ ।

वडा नं १ दुदिलाभाटीस्थित सरस्वती मावि द्वितीय र २ नम्बर वडाको मदरल्यान्ड मावि तृतीय भए । त्यस्तै छात्रातर्फ रत्नलक्ष्मी मावि (रिघा) प्रथम, पाण्डवखानी मावि द्वितीय र गलकोट मावि (हटिया) तृतीय भएका छन् ।

शैक्षिक सामग्री प्रदर्शनीतर्फ हटियास्थित गलकोट माविले बाजी मा¥यो । जनजागृति मावि काँडेबास र गोल्डेन फ्युचर मावि हटिया क्रमशः द्वितीय र तृतीय भए ।

शिव मावि काडेबास, न्यु लाइफ मावि हरिचौर र महेन्द्र मावि नरेठाँटीले सान्त्वनामा चित्त बुझाए ।

त्यस्तै आधारभूत तहको प्रदर्शनीमा मनेवा अधारभूत विद्यालय रिघा प्रथम, सानोरिघा आधारभूत विद्यालय द्वितीय, नवज्योति दुर्गा आधारभूत विद्यालय तृतीय, चमुवा आधारभूत विद्यालय र बालज्योति प्राथमिक विद्यालय सान्त्वना भएका छन् ।
लोकनृत्यतर्फ गोल्डेन फ्युचर मावि हटिया प्रथम, न्यु लाइफ आवासीय मावि द्वितीय, भैरव मावि बासखोला तृतीय र सरस्वती मावि, बालकल्याण आधारभूत विद्यालय सान्त्वना भए ।

उत्कृष्ट नृत्यतर्फ शिव मावि विजयी भयो ।

प्रतियोगिताको समापन सत्रमा नगरप्रमुख भरत शर्मा गैरेले खेलकुदलगायत अतिरिक्त क्रियाकलापले विद्याथर्थीको अन्तर्निहित प्रतिभा बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै यस्ता कार्यक्रम आगामी दिनमा पनि आयोजना गरिने बताए ।

शिक्षाले व्यक्तिको सोच, विचार र समग्र जीवनमा सकारात्मक परिवर्तनका साथै शिष्टता, इमानदारिता विकास गर्ने भएकाले नगरभित्रको शैक्षिक विकासका लागि नयाँ योजनाअनुसार बजेट ल्याउने उनको भनाइ छ । गलकोट क्षेत्रबाट युवा शक्ति पलायन भइरहेको अवस्थामा शिक्षामा जोड दिन सके केही हदसम्म युवा गलकोटमै रहने उनले बताए ।

‘नगरपालिकाले तत्काल प्रतिफल दिनेभन्दा पनि दीर्घकालीन योजनालाई पहिलो प्राथमिकता दिएको छ,’ उनले भने । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्