१७ बैशाख २०८१, सोमबार

 

युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

भारतीय क्रिकेटर युवराज सिंहले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । सोमबार मुम्बईमा पत्रकार सम्मेलनको आयोजना गर्दै विश्वकप विजेता युवराजले अन्तराष्ट्रिय क्रिकेटको साथै इन्डिएन प्रीमियर लिगबाट पनि सन्यास लिने घोषणा गरेका हुन् ।

३७ वर्षीय युवराज सिंहले भारतका लागि आफ्नो अन्तिम एकदिवसीय खेल सन् २०१७ को वेस्ट इण्डिजविरुद्ध खेलेका थिए।

युवराज सिंहले आफ्नो अन्तिम टी-ट्वान्टी खेल सन् २०१७ को फेब्रुअरी मा इङ्ग्ल्याण्डविरुद्ध खेले भने अन्तिम टेस्ट खेल सन् २०१२ मा इङ्ग्ल्याण्डविरुद्ध खेले।

विगत दुई वर्षमा युवराज सिंहले भारतका लागि कुनै पनि खेल खेलेका छैनन्।

सन्न्यासको घोषणा गर्ने क्रममा भावुक हुँदै उनले भने, “मैले बाल्यकालदेखि नै आफ्ना बुवाको पदचिह्नलाई अनुशरण गर्दै देशका लागि खेल्ने उनको सपनालाई पछ्याएँ।”

उनले थपे, “मेरो लागि सन् २०११ को विश्वकप जित्नु र म्यान अफ द सिरिज पाउनु सपनाजस्तै थियो। त्यसपछि क्यान्सर भएको थाहा भएपछि मलाई छाङ्गाबाट खसेजस्तो भयो।”

उनले भने, “एउटा क्रिकेट खेलाडीको रूपमा यात्रा शुरू गर्ने बेला भारतका लागि खेल्नेछु भन्ने मैले सोचेको थिइनँ। लाहोरमा पहिलो शतक बनाउनु र टी-ट्वान्टीमा ६ बलमा ६ वटा छक्का हान्नु स्मरणीय रह्यो।”

सन्न्यास लिने निर्णयबारे जिज्ञासा राख्दा उनले भने, “सफलता पनि पाइरहेको थिइनँ र मौका पनि। खेलजीवन शुरू भएको १९ वर्ष भइसकेको छ। टी-ट्वान्टी जितेर सन्न्यास लिने भनेर सोचेको थिएँ, तर सोचेको सधैँ कहाँ हुन्छ र!”

युवराजले ३ सय ४ वान डे खेलमा १४ शतक र ५२ अर्ध शतकसहित कुल ८ हजार ७ सय १ रन बटुलेका छन् । त्यस्तै ४० टेस्टमा ३ शतक र ११ अर्ध शतकसहित कुल १ हजार ९ सय रन जोडेका छन् ।

उनले ५८ टी ट्वान्टी खेल्दै कुल ४ सय ९९ रन बटुलेका छन् । वान डे क्रिकेटमा १ सय ११, टेस्टमा ९ र टी ट्वान्टीमा २८ विकेट पनि लिएका छन् ।

सन् २००७ को टि–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका युवराजले विश्व क्रिकेटमा विष्फोटक ब्याट्सम्यानका रुपमा छुट्टै पहिचान बनाए।

भारतले सन् २०११ को एकदिवसीय विश्वकप जित्दा युवराजको प्रदर्शन उत्कृष्ट रह्यो। उक्त विश्वकपमा उनी प्लेयर अफ दि टुर्नामेन्ट घोषित भएका थिए।

सोमबार युवराजको सन्यास लिने घोषणापश्चात भारतीय तथा अन्तराष्ट्रिय क्रिकेट बोर्ड, क्रिकेटर र प्रशंसकहरुले सामाजिक सन्जालमा शुभकामना व्यक्त गरेका छन्।

 

 

https://twitter.com/KP24/status/1138011553444352001

 

प्रतिक्रिया दिनुहोस्