प्रहरीको भूमिकाप्रति चौतर्फी नकारात्मक टिप्पणी भइरहेका बेला प्रहरी भने नागरिकसँग सहकार्य गर्न गाउँगाउँ पुग्न थालेको छ ।
सरकारले प्रतिबन्ध लगाएको नेकपाका नेता नेत्रविक्रम चन्द (विप्लव) को गाउँ पुगेर प्रहरीले नागरिकसँग साझेदारी कार्यक्रम सुरु गरेको हो ।
प्रहरीले यसअघि पक्राउ गरिएका विप्लवसमर्थित स्थानीय यादव चन्दलाई समेत कार्यक्रममा सहभागी गराएको छ ।
कार्यक्रममा ५ नम्बर प्रदेशका प्रहरीप्रमुख शेरबहादुर बस्नेतले प्रहरी नागरिकसँग सहकार्य गरेर शान्तिसुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।
स्थानीयले पनि प्रहरीलाई सघाउने प्रतिबद्धता जनाए । स्थानीय स्तरमा प्रहरीको कार्यशैली र बुझाइ नकारात्मक बन्दै गइरहेका बेला यस्ता कार्यक्रम लिएर गाउँ पुग्नु सकारात्मक रहेको उनीहरूको भनाइ थियो ।
करिब ३ महिनाअघि उक्त गाउँमा विप्लवका कार्यकर्ता गिरफ्तार गर्ने क्रममा झडपको स्थिति बनेको थियो । शिक्षकसमेत रहेका चन्दसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।
स्थानीय पत्रकार किरणमान वज्राचार्यले प्रहरीले विप्लवको गाउँबाट नागरिकसँग साझेदारी कार्यक्रम सुरु गरेको जानकारी गराए । स्थानीय बासिन्दाले प्रहरीले शान्ति सुरक्षाको काम गर्दा आफ्नो सहयोग रहने स्पष्ट पारे ।
कपिलवस्तु सिमानाका हो । यहाँ प्रहरीको सक्रियताबाट मात्र चोरीतस्करी र कालाबजारी नियन्त्रण सम्भव छ ।
तर प्रहरीले नै हप्ता असुली गर्दै त्यस्ता कार्यलाई भित्रभित्रै प्रोत्साहन गरिरहेको स्थानीय बताउँछन् । नदी दोहन गर्नेहरूसँग हप्ता असुलेर प्रहरीले नै ठेकेदारको संरक्षण गर्ने गरेको उनीहरूको आरोप छ ।



















































































































































































































