नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई बुधबारदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको रुपमा सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।
‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरे ।

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई आभार प्रकट गरे ।
‘ हाम्रो व्यावसायिक यात्राका लागि तपाईंहरू सबैबाट प्राप्त सहयोग र सद्भावलाई हामीले सदैव मार्गदर्शनको रुपमा लिएका छौं । सानो आकारबाट शुरु भएको आइएमई आज एउटा व्यावसायिक ग्रुपको रुपमा स्थापित भएको छ । आइएमईले आर्जन गरेको शाख र प्रतिष्ठा तपाईंहरु सबैको अथक मेहनत र सद्भावको परिणाम हो । यसको श्रेय तपाईंहरू सबैसँग बाड्न पाउँदा हामीलाई निकै खुशी लागेको छ।’ अध्यक्ष र प्रवन्ध निर्देशकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


















































































































































































































